बनेपा/बागमती टिपर ब्यवसायी संघले आफ्नै भवन निर्माण गरेको छ । ब्यवसायलाई प्रर्वद्धन तथा संरक्षण गर्ने उद्देश्यले विभिन्न कार्यक्रम संचालन गरिरहेको टिपर ब्यवसायी संघले आफ्नै भवनबाट प्रशासनिक कार्य गर्ने गरी तयारी गरेको छ ।
बनेपा नगरपालिका वडा नम्वर ८ स्थित तुल्टीफाँटमा ५ आना जग्गामा निर्माण भएको तीन तल्ले पक्कि भवनका लागि १ करोड खर्च भईसकेको छ । भवन निर्माण कार्य अन्तिम हुँदा करिव डेड करोड खर्च हुनेछ । ‘टिपर ब्यवसायीहरुलाई संस्थागत र ब्यवसायीक विकासका लागि निरन्तर विभिन्न कार्यहरु भईरहेका छन्’–अध्यक्ष सुरेश खत्रीले भन्नुभयो–‘ब्यवसायी, मजदुर र सडक तथा पैदल यात्रुहरुका लागि समेत सुरक्षाका लागि कार्यहरु भईरहेका छन् ।’ असार २९ गते औपचारीक रुपमा टिपर ब्यवसायी संघको कार्यालय उक्त भवनबाट शुभारम्भ गरिएको अध्यक्ष खत्रीले बताउनु भयो ।
बागमति टिपर ब्यवसायी संघमा करिब ७ सय टिपर आवद्ध भएका छन् । करिब ५ सय टिपरले मात्रै नियमित नविकरण गरेका छन् । संंघले असार मसान्तसम्म संघमा आबद्ध हुने टिपरहरुलाई १५ हजार रुपैयाँबाट घटाएर ५ हजार रुपैयाँ मात्रै लिने निर्णय गरेको छ । त्यस्तै नविकरण शुल्क पनि ३ हजार २ सयबाट घटाएर साउन १ गते देखि २ हजार ५ सय कायम गरेको कार्यालय प्रमुख प्रकाश कायश्थले जानकारी दिनु भयो । संघमा आवद्ध हुने ब्यवसायीहरुका लागि उपचार खर्च, दुर्घटना विमा लगायतका विभिन्न सुविधाहरु उपलब्ध गराएको छ भने नियमित नविकरण गर्ने मजदुरहरुलाई पनि विभिन्न प्रकारका सुविधा उपलब्ध गराउँदै आएको छ । दुर्घटना न्यूनीकरण सम्वन्धी सचेतना कार्यक्रम र पुरस्कृत गर्दै आएको छ । पछिल्ला वर्षमा बागमती टिपर ब्यवसायी संघमा आवद्ध टिपरहरुका कारण दुर्घटना हुने संख्यामा कमी भएको तथ्याङ्कले पुष्टी गरेको छ । पाँच वर्ष अघि संघले बनेपा ८ मा जग्गा खरिद गरेको थियो । संघमा संस्थापक अध्यक्ष राजभक्त प्रधान, पूर्व अध्यक्षहरु शेरबहादुर कुँवर, प्रेम लामा र वर्तमान अध्यक्ष सुरेश खत्रीले नेतृत्व गरिरहनु भएको छ । संघले महासंघमा सदस्यता लिएर ब्यवसायिक एकता र जिम्मेवारीलाई थप सशक्त बनाएको छ ।









