2026 April 26/ 05:54: 33pm

मानसिक स्वास्थ्य सम्बन्धी सचेतना
    बनेपा÷बनेपा नगरपालिका वडा नम्वर ६ र ११ को आयोजना तथा महिला सरोकार समुहको समन्वयमा महिला हक हित र जागरणको लागि हाम्रो अभियान भन्ने नाराका साथ मानसिक स्वास्थ्य विषयक एकदिने सचेतना तथा प्रमाण पत्र वितरण कार्यक्रम बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    महिला सरोकार समुहकी अध्यक्ष शोभा थापा नकर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिका वडा नम्वर ६ का अध्यक्ष सचितानन्द केसी, वडा नम्वर ११ का अध्यक्ष शिवकुमार थापा, बहुसरोकार मञ्चका संयोजक निर्मला श्रेष्ठ लगायतका ब्यक्तिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रुवेन तौजले, अभियान्ता प्रमिला बजगाई लगायतले मानसिक स्वास्थ्य सम्वन्धी सचेतना र स्वस्थ्य रहन अपनाउनु पर्ने विषय र ब्यक्तिको रहन सहनका बारेमा बताउनु भएको थियो । सचिव सम्झना खतिवडाको संचालनमा सम्पन्न कार्यक्रममा महिला सरोकार समुहद्वारा संचालित स्कुटर र डल्लो साबुन बनाउने तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । स्कुटर तालिम बनेपा ६ का महिलाहरुले लिएका थिए भने डल्लो साबुन बनाउने तालिम बनेपा ११ का महिलाहरुले लिएका थिए । महिला सरोकारले सिपमूलक तालिम प्रदान गरी महिलाहरुलाई सक्षम बनाउँदै आत्मनिर्भर बनाउने तथा मानसिक सचेतना तालिम मार्फत ब्यक्तिलाई स्वस्थ बनाउने र सामाजिक अभियानका कार्यक्रमहरु संचालन गर्ने अध्यक्ष शोभा थापा नकर्मीले जानकारी दिनु भयो ।