बनेपा/जेसीआई जापान तथा जेसीआई नेपालको सहयोगमा काभ्रे जेसीज, काभ्रे लेडी जेसीज तथा बनेपा जूनियर जेसीजको संयोजकत्व र बनेपा नगरपालिका, बनेपा नगरपालिका वडा १,२,३,४ को सहकार्यमा आयोजित एक दिने निशुल्क स्वास्थ्य शिविरमा चार सय भन्दा धेरै नागरिकहरुले सेवा प्राप्त गरेका छन् ।
शिविरमा काठमाडौंका विभिन्न अस्पतालबाट १६ जना चिकित्सहरुले नागरिकहरुको स्वास्थ्य परिक्षण गरेका थिए । सामान्य परिक्षण, हाडजोर्नी, मुटुरोग, स्त्रीरोग, नाक कान घाँटी, दाँतको परिक्षण गरिएको थियो । शिविर संचालनका लागि जेसीआई जापानका शाखा जेसीआई आईची ब्लोकका अध्यक्ष सेइतारो सुगीरा सहित विभिन्न १४ जना जेसीआई जापानका पदाधीकारी उपस्थित थिए । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धरले शिविरले स्थानीय ग्रामीण भेगमा रहेका नागरिकलाई सेवा पु¥याउन महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । नेपाल र जापानको सम्बन्ध प्रगाढ बनाउन जेसीआई नेपाल र जेसीआई जापानको बिचको सम्बन्ध थप बलियो बनाउन अन्तरदेशिय कार्यक्रमले थप मद्धत गर्ने उहाँले बताउनु भयो । कार्यक्रममा प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा, वडा अध्यक्षहरु कमलप्रसाद घिमिरे, रामप्रसाद घिमिरे, रमेश दाहाल, श्यामसुन्दर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा काभ्रे जेसीजका अध्यक्ष सुमित मानन्धरले शिविरमा सहभागि भई विभिन्न तरिकाबाट सहयोग पु¥याउनेलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।









