धुलिखेल/सुरक्षित आप्रवासन सामी कार्यक्रमको वार्षिक समिक्षा गोष्ठी धुलिखेलमा सम्पन्न भएको छ । धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुको प्रमु्ख आतिथ्यतामा भएको कार्यक्रममा सिविक फोरमका कार्यक्रम संयोजक वसन्त कुँवर, धुलिखेल नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विदुर गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना लगायत सामी कार्यक्रमका पालिका स्थित फोकल पर्सन तथा सरोकारवालाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा आफ्नो भनाई राख्दै धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले वैदेशिक रोजगारीलाई व्यवस्थित र सिपमुलक बनाउनुपर्नेमा जोड दिएका छन । भाषा र सिपको राम्रो ज्ञान भएमा मात्रै वैदेशिक रोजगार सहज हुने भन्दै उनले आवश्यक जानकारी लिएर मात्रै विदेश जान आग्रह गरेका छन । नगर प्रमुख व्याञ्जुले वैदेशिक रोजगारीबाट आर्जन भएको रकम अनावश्यक ठाउँमा खर्च हुन थालेकोमा पनि चिन्ता व्यक्त गरेका छन । नेपाली संस्कृतिलाई भुल्दै आधुनिक शैली अपनाउँदा व्ययभार थपिएको उनको भनाई थियो । अनावश्यक खर्च कटौती र भड्किलो आधुनिक संस्कारमा सुधार ल्याउन जरुरी रहेकोमा उनले जोड दिएका छन । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको अनुभव आदानप्रदानको कार्यक्रम राख्न उनले सुझाव दिएका छन । यस्तै कार्यक्रम संयोजक वसन्त कुँवरले जिल्लाका ४ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिए । धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका र रोशी गाउँपालिकामा सामी कार्यक्रम सञ्चालित छ । सामी कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७९÷८० मा हालसम्म १३ हजार ५ सय ६५ जनालाई परामर्श दिइएको कार्यक्रम संयोजक कुँवरले जानकारी दिए । धुलिखेल नगरपालिकामा १ हजार १ सय ८३, मण्डनदेउपुर नगरपालिकामा १ हजार २ सय ५६, भुम्लुमा ६ सय ६२ र रोशी गाउँपालिकाका १ हजार १ सय १४ र अन्य पालिकाका ९ हजार ३ सय ५० जनालाई परामर्श दिइएको छ । परामर्श लिनेमध्ये ४० प्रतिशत महिला रहेका छन ।
यस्तै ५२ जना वैदेशिक रोजगारीका कारण तनावमा रहेका परिवारका सदस्यहरुलाई मनोसामाजिक परामर्श दिइएको कार्यक्रम संयोजक कुँवरले बताएका छन ।









