११ महिनामा ४६ प्रतिशत विकास खर्च
धुलिखेल/जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले बार्षिक समीक्षा कार्यक्रम आयोजना गरेको छ । संघीय सांसद गोकुल बास्कोटाको प्रमुख आतिथ्यता तथा समन्वय समिति प्रमुख दिपककुमार गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका १३ वटा पालिका र विषयगत पालिकाहरुले गरेका गतिविधिहरुका बारेमा समीक्षा गरिएको छ । जिल्ला समन्वय समितिले उक्त अवसरमा पालिकामा भएका गतिविधिहरुका बारेमा तयार गरेको प्रतिवेदन पुस्तक समेत प्रकाशन गरेको छ ।
कार्यक्रममा बोल्दै पुर्व मन्त्री तथा संघीय सांसद गोकुल बास्कोटाले प्रकृतिको रक्षा विना मानव समाजलाई सुरक्षित बनाउन नसकिने बताउनु भयो । ‘पोखरी, कुवा, मन्दिर, रुख, पानीका श्रोतहरुको नस्ट हुने गरी विकास निर्माण गरेर प्रकृतिलाई असुरक्षित बनाउन हुँदैन’–पूर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘जलवायु परिवर्तन, राजनीतिक अस्थिरता तथा दुई ठुला मुलुकहरुको द्वन्द्वका कारण विश्व आर्थिक संकट तर्फ उन्मुख हुन थालेको छ । मानवको रक्षाका लागि पनि विकासमा प्रकृतिको रक्षा पहिलो शर्त हो र हुनुपर्छ ।’
काभ्रेपलाञ्चोक जिल्लामा ४२ वटा संघ अन्र्तगतका कार्यालय छन् भने १६ वटा प्रदेश अन्र्तगतका कार्यालय छन् । १३ वटा पालिकामा भएको बजेट र त्यसको कार्यान्वयन तथा भुक्तानीका बारेमा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक लेखनाथ रेग्मिले जानकारी गराउँदै विकास खर्च संघ अन्र्तगतको बजेटबाट ४६ प्रतिशत मात्रै भएको तथ्याङ्क प्रस्तुत गर्नु भयो । प्रदेश तर्फ विनियोजन भएको बजेटमा ५७ प्रतिशत खर्च भएको छ भने पालिकाहरुमा विनियोजन भएको बजेट ६२ प्रतिशत खर्च भएको छ । असार १० गतेसम्म विनियोजन भएको पुँजिगत खर्चमा उल्लेख्य प्रगति हुन नसकेको प्रतिवेदनले जिल्लाका सबै कार्यालय र स्थानीय तहको प्रगतिमा प्रश्न उठेको छ । सहभागिहरुले बजेट प्राप्त हुँदा समेत खर्च हुन नसकेको प्रति भएका समस्याहरु केलाउन सुझाव दिए ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले विषयगत कार्यालयहरुले दिने सेवा प्रभावकारी बनाउन अनुरोध गर्नु भयो । प्रदेश अन्र्तगतका मन्त्रालय र जिल्लामा रहेका कार्यालय पनि काम विहिन भएकाले त्यसको संख्या कटौती गरी स्थानीय तहलाई बलियो बनाउन गौतमले अनुरोध गर्नु भयो । जनप्रतिनिधिहरुले पनि कार्यकर्ता केन्द्रित भएर भन्दा नागरिक प्रति केन्द्रित हुँदै जिल्लाका समग्र विषयमा ध्यान दिन अनुरोध गर्नु भयो । काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले नेपालको शिक्षा प्रणाली वा पछिल्लो समय बालबालिकाहरुको उच्च शिक्षामा नेपाल भन्दा बाहिर देश प्रति देखिन थालेको मोह भङ्ग गराउनु पर्ने बताउनु भयो । राजधानीबाट नजिक रहेको काभ्रे शैक्षिक हवका रुपमा विकास हुँदै गए पनि उच्च शिक्षा र उच्च शिक्षा प्राप्ती पछि रोजगारका अवसरका बारेमा ध्यान दिनु पर्ने बताउनु भयो । संघीय सांसद सुर्यमान दोङ्गले विकास र समृद्धीका लागि भएका योजनाहरुको सहि कार्यान्वयन हुनु पर्ने बताउनु भयो । कार्यक्रममा प्रदेश सासदहरु, पालिकाका प्रमुखहरु, कार्यालय प्रमुखहरुले पालिका तथा जिल्लामा भएका विभिन्न योजना र योजनामा भएको प्रगति तथा समस्याका बारेमा छलफल भएको थियो ।









