बनेपा/नेपाल पत्रकार महासंघ काभ्रे शाखाले सदस्यता नविकरण गर्ने क्रममा शुद्धिकरणको मापदण्ड विपरित निर्णय गरेको भन्दै प्रेस चौतारीले विरोध गरेको छ । प्रेस चौतारी नेपाल काभ्रे शाखाका अध्यक्ष भुवन रायमाझीद्वारा जारी गरिएको विज्ञप्तीमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाले विभेदपूर्ण खालका निर्णय तत्काल सच्याउन अनुरोध गरिएको छ ।
प्रेस चौतारी काभ्रेले नेपाल पत्रकार महासंघ काभ्रे शाखा, प्रदेश समिति र केन्द्रिय समितिलाई ध्यानाकर्षण र दावी विरोध गर्दै तत्काल निर्णय सच्याउन माग गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले जारी गरेको सदस्यता शुद्धिकरण सम्वन्धी निर्देशिका २०८० अन्र्तगतको मापदण्ड विपरित नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको बैठकले केही ब्यक्ति विशेषलाई केन्द्र बनाएर आफु खुशी सदस्यता नविकरण गर्ने तथा फरक विचार राख्नेको नविकरण रोक्ने, केही सदस्यहरूको हकमा विधान भन्दा बाहिर गएर प्रदेश र केन्द्रमा पठाउने जस्ता विषय उल्लेख गरी पत्रकार महासंघको विधान र निर्देशिका विपरित निर्णय गरिएको जानकारीमा आएकाले उक्त निर्णयले विगत तीन दशकदेखि पत्रकारिता गर्दै आउनु भएका नेपाल पत्रकार महासंघका २ कार्यकालका पुर्व सभापति तथा क्रियाशिल पत्रकारहरू समेतको नियोजित रुपमा नविकरण नगरेकाले प्रदेश र केन्द्रिय समितिलाई जिल्ला शाखाको उक्त निर्णय पूर्नविचारका लागि ध्यानाकर्षण गरिएको विज्ञप्तीमा उल्लेख छ ।
२०७७ चैत्रमा सम्पन्न शाखा निर्वाचनमा अन्यत्र शाखामा सदस्य भएका ब्यक्तिको स्थानान्तरणको निर्णय विना नै सदस्यता नविकरण गरेको प्रति पनि ध्यानाकर्षण गराउँदै क्रियाशिल सदस्यहरूको नविकरण गर्न र क्रियाशिल नभएका सदस्यहरूको हकमा नविकरण रोक्न साथै सदस्य नै नभएको ब्यक्तिको सदस्यता नविकरण गर्ने जस्ता गम्भिर त्रुटीपूर्ण निर्णय सच्याउन अनुरोध गरिएको छ । जिल्ला शाखा अन्र्तगत सदस्य भएका ब्यक्तिहरूको पूर्ण विवरण समेत चौतारीले सार्वजनिक गरेको छ । प्रेस चौतारी नेपाल काभ्रे शाखा महासंघको उक्त निर्णयमा पुर्नविचार नभए चरणवद्ध आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको छ ।









