2026 April 26/ 04:38: 42pm

    बनेपा/काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश पालिकाहरुले आर्थिक वर्ष २०८०÷२०८१ को बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेका छन् । पनौती नगरपालिकामा भने कार्यपालिकामा नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल नै नभई सभा बोलाएको भन्दै सभा शुरु भए लगत्तै जनप्रतिनिधिहरुले विरोध गरे पछि नगर सभा अध्यक्ष रामशरण भण्डारीले स्थगितको घोषणा गर्नु भयो ।
    धुलिखेल नगरपालिकाले असार ६ गते नै बजेट, नीति तथा कार्यक्रम पास गरेको थियो भने चौरीदेउराली गाउँपालिकाले असार ८ गते सभा आयोजना गरेको थियो । जिल्लाका अन्य पालिकाहरुले नीति, तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर क्षेत्र भित्रको ब्यवसाय प्रर्वद्धनका लागि रात्रिकालिन ब्यवसाय संचालन गर्ने आवश्यक अध्ययन गरी कार्यान्वयन गर्ने घोषणा गरेको छ । १ हजार रुपैया भन्दा कम सम्पती कर बुझाउने करदाताहरुको छुट्टै अभिलेख राख्ने र अति गरिव नगरबासिहरुहरुको घरजग्गा ब्यवस्थित गरि खरिद विक्रीमा सेवा दस्तुर लिनेको लागि राहत प्रदान गर्ने घोषणा गरेको नगर प्रमुख शान्तिरत्न शाक्यले बताउनु भयो । 
    अरनिको राजमार्ग विस्तारका क्रममा हुन सक्ने पूर्वाधार क्षतिको तत्काल मर्मत र निर्माण, सबै वडाकार्यालयसम्म पुग्ने पक्कि सडक निर्माण, नयाँ सडक निर्माण गर्दा अपाङ्गतामैत्री फुटपाथ निर्माण, खानेपानी र ढल निकासको ब्यवस्था, साविकका सडकहरुको स्तरोन्नती लगायतका विषय प्राथमिकतामा राखिएको छ । सडक पूर्वाधार गुरुयोजना, नगर क्षेत्र समेटिने रिङ्गरोड निर्माण, नगर सुरक्षाका लागि मुख्य र संवेदनशिल चोक र गल्लीहरुमा सिसि क्यामेरा जडान गर्ने, भएका क्यामेराहरु अध्यावधिक गर्ने, नगर भित्रका विद्यालयहरुबाट कक्षा ५,८, १० र १२ को नतिजाको आधारमा ४ वटा विद्यालयलाई नगद सहित उत्कृष्ट मेयर शैक्षिक पदकबाट सम्मान गर्ने घोषणा गरेको छ । शैक्षिक गुणस्तर कायम गर्न विभिन्न कार्यक्रम सार्वजनिक गर्ने लगायतका कार्यक्रम सार्वजनिक भएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, कृषि तथा पशुपन्क्षी विकास, पर्यटन, उद्योग, सहकारी, वन तथा वातावरण र विपद ब्यवस्थापन लगायतका कार्यक्रम सार्वजनिक भएको छ । बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाले नगरको आगामी वर्षको बजेट प्रस्तुत गर्नु भएको थियो । प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद हुमागाईले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको बताउनु भयो । 
    पनौती नगरपालिकामा कार्यपालिका बैठकले बजेटका बारेमा छलफल नहुँदै सभा बोलाईएको भन्दै कार्यपालिका सदस्यहरुले नै विरोध गरे पछि बैठक स्थगित भएको छ । नगर प्रमुख रामशरण भण्डारीले कर्मचारीको सर्भे गरेर यहि सभाबाट दरवन्दी स्विकृत गर्ने प्रस्ताव पेश गरे पछि त्यसलाई बृहत्त छलफल गरेर हिउँदे सभाबाट पास गर्नु पर्छ भन्ने सुझावलाई अस्विकार गरिएकाले कार्यपालिकाबाट उक्त निर्णय पास हुन नसकेको उपप्रमुख गिता बञ्जाराले बताउनु भयो । ‘हामी कर्मचारीको ओएनएम गर्ने विषयको विरोधी हैनौं तर आवश्यकता अनुसार श्रोतको पहिचान गरेर बृहत छलफल पछि हिउँदे सभाबाट गरौ भन्दा नगर प्रमुखले मान्नु भएन’–उपपप्रमुख गिता बञ्जाराले भन्नुभयो–‘बजेट प्रस्तुत गर्ने म, मलाई नै बजेटका बारेमा जानकारी छैन । कसरी हुन्छ नगर सभा ?’ नगर प्रमुख रामशरण भण्डारीले त्यहि प्रस्तावमा असहमति भएका कारण कार्यपालिकामा बजेट र नीति तथा कार्यक्रम नै पास हुन नसकेको बताउनु भयो । कानूनत असार १० गते नगर सभा शुरु गर्नु पर्ने पुर्व निर्धारित कार्यतालिका अनुसार नगर सभा बोलाईएको भए पनि शुरु भए लगत्तै सभाका सदस्यहरुले विरोध गरे पछि स्थगित गर्नु परेको नगर प्रमुख भण्डारीले बताउनु भयो । अर्काे बैठक अनिस्चित छ । सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र सोहि कार्यक्रम माथी छलफल गरेर पास गर्ने कार्यसूची थियो । 
    नमोबुद्ध नगरपालिकामा नगर प्रमुख कुन्साङ लामाले आगामी आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगर उपप्रमुख रत्नबहादुर लामाले आर्थिक बर्ष २०८०/८१  को लागि बजेट ७२ करोड ७५ लाख ६४ हजार ८ सय २७ रुपैयाको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगरले आगामी आर्थिक बर्षको लागि चालुतर्फ १७ करोड ९४ लाख २४ हजार १ सय  ९७  र पुँजीगततर्फ ५४ करोड ८१ लाख ४० हजार ६ सय ३० रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।