बनेपा/काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले धितो लिई तरलता व्यवस्थापन शिर्षकमा लगानी गर्ने उद्देश्यले ५ करोडको कोष निर्माण गर्ने निर्णय गरेको छ ।
संस्थाका अध्यक्ष उदयराम कायस्थको अध्यक्षतामा गत जेठ १२ गते सञ्चालक समितीको बैठकले उक्त निर्णय गरेको प्रवन्धक गुरु प्रसाद ढकालले जानकारी दिनु भयो । विश्वव्यापी रुपमा देखा परेको आर्थिक मन्दी र त्यसले नेपालको अर्थतन्त्रमा पारेको असर साथै बैंक तथा वित्तिय संस्थाहरुमा पनि त्यसको ठुलो प्रभाव देखा परेकाले उक्त कोषको स्थापना गरिएको संस्थाका अध्यक्ष यदयराम कायस्थले बताउनु भयो । कायस्थले धेरै सहकारीहरु सहकारी ऐन, मूल्य मान्यता र सिद्धान्तमा चल्दा चल्दै पनि केही व्यक्तिहरुले वित्तिय अराजकता फैलाई सहकारी प्रति अविश्वास पैदा गराउने किसिमको कार्य गरी सहकारीलाई नै कमजोर बनाएको हुदाँ ति संस्थाहरुको संघले स्थलगत अनुगमन एवं निरीक्षण गरि पर्यायप्त आधारहरु देखिएमा उक्त संस्थाका संचालक समितिका पदाधिकारीहरुको धितो लिई तरलता व्यवस्थापन शिर्षकमा लगानी गर्ने उद्देश्यले कोष निर्माण गरिएको संघका अध्यक्ष कायस्थले बताउनु भयो ।
२ सय ४२ वटा बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध भएको संघमा कोष परिचालनको लागि कार्यविधिको मस्यौदा तयार गर्न संघका कोषाध्यक्ष जिवन श्रेष्ठको संयोजकत्वमा ४ सदस्य कार्यदल गठन गरेको छ । कार्यदलको सदस्यमा विन्धवासिनी साकोसका प्रमुख कार्यकारी अधिकृत के.वि. लामा, सामुदायिक साकोसका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेत, आभाष साकोसका प्रमुख व्यवस्थापक सुभाष बैध र बचत संघका प्रबन्धक गुरु प्रसाद ढकाल लाई कार्यविधि तयार गर्ने जिम्मेवारी प्रदान गरेको वताईएको छ । संघले यस्तो विषम परिस्थितिलाई मध्यनजर गर्दै संस्थामा गई संस्थाका संचालक समितिका पदाधिकारी र व्यवस्थापन प्रमुखहरुसँग प्रत्यक्ष भेटघाट गरि आवश्यक राय, सल्लाह सुझाब संस्थाको समस्या र समाधानका उपाय सहित उचित मार्गदर्शन प्रदान गर्दै आएको संघका उप प्रबन्धक रवि के.सीले बताउनु भयो । काभ्रेका सहकारी संस्थाहरु सहकारी ऐन, नियमावली, संस्थाको विनियम, नीति, विधि, प्रविधि र सुशासनमा संचालित संस्थाहरुलाई सहयोग र सहकार्य गरि अगाडी बढने कुरामा संघ तयार रहेको र उक्त कोष निर्माणले काभ्रेको सहकारी अभियालाई थप मजबुत एवं बलियो बनाउने संघका अध्यक्ष उदयराम कायस्थले बताउनुभयो ।









