2026 April 26/ 04:25: 22pm

बनेपा/पतञ्जली योग समिति काभ्रेपलाञ्चोकको आयोजनामा बनेपाको लायकु मञ्चमा योग शिविर तथा विपन्न छात्राहरुलाई शैक्षिक सामाग्री र सहयोगिहरुलाई सम्मान गरिएको छ । योग शिविरमा योगका विभिन्न प्रोटोकलमा अभ्यास गराईएको थियो । 
    बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सहयोगिहरुलाई सम्मान गर्दै पतञ्जली योग समितिले वितरण गरेको छात्रवृत्ति हस्तान्तरण गर्नु भएको थियो । बनेपाको आजाद, चैतन्य, हिमालय, शिक्षा सदन, भक्तेश्वर, चण्डेश्वरी, महेन्द्र मावी लगायतका ९ वटा विद्यालयका ९ जना छात्राले शैक्षिक सामाग्री सहितको छात्रवृत्ति प्राप्त गर्नु भएको थियो । काभ्रेपलाञ्चोक जिल्लाबाट पहिलो पटक नेपाल उद्योग बाणिज्य संघमा उपाध्यक्षमा विजयी हुनु भएका बनेपाका सुरकृष्ण बैद्यलाई पनि सोहि अवसरमा बधाई तथा शुभकामना ब्यक्त गरिएको थियो । बैद्यलाई उद्योग बाणिज्य संघको प्रतिनिधित्व हुने गरी धितो पत्र बोर्डमा नियुक्त गरिएको छ । दुई दशक भन्दा लामो समय देखि बनेपामा योग संचालन गर्दै आएको पतञ्जली योग समिति काभ्रेपलाञ्चोकले विपतको समयमा मानविय सेवा, भुकम्पको समयमा उद्दार, राहत र उपचार तथा पुर्नस्थापना, बाढी पहिरोको समयमा राहत तथा कोरोना लगायतका विपदमा सहयोग पु¥याएको छ । 
    नवौ अन्तराष्ट्रिय योग दिवसका अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दिपक गौतम, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय उपाध्यक्ष सुरकृष्ण बैद्य, पतञ्जली योग समिति बागमति प्रदेशका अध्यक्ष ग्रुवेन तौजले, कार्यवाहक अध्यक्ष प्रकाश कायस्थ, युवा अध्यक्ष रमेश श्रेष्ठ, महिला अध्यक्ष अनु श्रेष्ठ लगायतले योगको माध्यमबाट समुदायमा सकारात्मक सन्देश, सकारात्मक सोचका साथै विभिन्न रोगहरुको निदान र ब्यक्तिलाई निरन्तर स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको थियो । योग दिवस मनाउन जिल्लाका विभिन्न योग सेन्टरबाट शिक्षक शिक्षिका तथा योग साधकहरु सहभागि भएका थिए । योग दिवसमा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रम कार्यवाहक अध्यक्ष प्रकाश कायस्थको सभापतित्वमा सम्पन्न भएको थियो ।