2026 April 26/ 04:25: 24pm

– पर्दा लगाएर कक्षा संचालन, एकै परिवारका ५ जना ‘बहिरा’
    बनेपा/बहिरा विद्यार्थीहरुका लागि स्थापना गरिएको बनेपा नगरपालिका वडा नम्वर ९ मा रहेको काभ्रे बहिरा विद्यालयमा एउटा कोठामा तीनवटा कक्षा संचालन गरिएको छ भने अर्काे एउटा कोठामा दुई वटा कक्षा संचालन भएका छन् । पर्दाले ढाकेर तीनवटा कक्षा संचालन भईरहेका छन् । एउटा कोठामा दुई वटा कक्षाका विद्यार्थी दुई तिर फर्केर पढिरहेका छन् । 
    भवन तथा कक्षा कोठा अभावका कारण विद्यालयले थोरै कोठाबाट धेरै कक्षा संचालन गर्नु परेको प्रधानाध्यापक कृष्णप्यारी नकर्मीले बताउनु भयो । ‘विद्यालयको एउटा भवनमा छात्राबास पनि संचालन गरिएको छ’–प्रधानाध्यापक नकर्मीले भन्नुभयो–‘उमेर ठुला भएका छात्राहरुलाई अलग्गै राखिएको छ । स–साना विद्यार्थीहरुलाई छात्र र छात्रा अलग अलग गरी ४० जना राखिएको छ ।’ छात्राबास र विद्यालय भवन संचालनका लागि पूर्वाधार अभावमा विद्यार्थीहरुलाई सकस भईरहेको छ । पूर्वाधार मात्रै नभई विद्यालयमा दरबन्दी पनि छैन । तीनजना स्थायी दरबन्दी, १ जना राहत, ३ जना अनुदान र ५ जना निजी श्रोतबाट कार्यरत शिक्षकहरुले कक्षा १० सम्म पढाईरहनु भएको छ । कक्षा १, ३ र ७ वटै कोठामा संचालन छ भने कगा ४ र ६ एउटा कोठामा संचालन भएको छ । विद्यालयमा ८५ जना विद्यार्थी अध्ययनरत छन् । 
    ‘काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा अन्य विकट जिल्लाका बालबालिकाहरु पनि विद्यालयमा भर्ना भएका छन्’–प्रधानाध्यापक नकर्मीले भन्नुभयो–‘विद्यालय नजाने उमेरका ब्यक्तिलाई सिप पनि उपलब्ध गराईएको छ ।’ भाई बहिनी विद्यालयमा भर्ना गरेर दिदीहरु सिलाई सिकिरहेका छन् । विद्यालयले दाताहरुको सहयोगमा तीन महिने सिलाई कक्षा पनि संचालन गरिरहेको छ । विद्यार्थीहरु पनि भविश्यमा बेरोजगार बस्नु नपरोस् भन्ने उद्देश्यले सिप सिकाउन थालिएको हो । 
    २०५२ सालमा सांकेतिक भाषाको विद्यालय संचालन गर्न शुरु गरिएको भए पनि विद्यालयले लामो समयसम्म माध्यमिक तहको अनुमति पाएन । २०६५ सालबाट एसलसी दिन थालेका विद्यार्थीहरुको संख्या ५० कटेको छ । आजाद माध्यमिक विद्यालय, एविएम, प्राईभेट, खुल्ला विद्यालय हुँदै आफ्नै विद्यालयबाट २०७८ साल देखि विद्यार्थीहरुले एसईई दिन थालेका हुन् । सोमबार वडा अध्यक्ष नृपेश बादे, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, लीला मध्यमार्ग अक्षयकोषका संयोजक प्रदिप केसी, समाजसेवी हरि थापा र प्रल्हाद बस्नेत लगायतले विद्यालयले सांकेतिक भाषाबाट बालबालिकाहरुलाई दिएको शिक्षालाई गुणस्तरीय बनाउन सक्दो सहयोग पु¥याउने बताउनु भयो । लीला मध्यमार्ग अक्षय कोषमा जम्मा भएको केहि रकमको ब्याजबाट संयोजक प्रदिप केसीले स्टेशनरी सामाग्री उपलब्ध गराउनु भएको थियो । कापी, सिसाकलम, कलम र अन्य थप सामाग्री विद्यालय बाल क्लवकी अध्यक्ष दिलमाया पुलामी मगर, विद्यालय प्रधानाध्यापक कृष्णप्यारी नकर्मी लगायतलाई केसीले हस्तान्तरण गर्नु भयो । सोहि अवसरमा विद्यालयलाई उपलब्ध गराईएको पोशाक वडा अध्यक्ष नृपेश बादे लगायतले बालबालिकाहरुलाई हस्तान्तरण गरिएको थियो । 

परिवार, परिवार नै बहिरा
बुबा, आमा र तीन सन्तान सबै बहिरा

    काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्वर १ स्थित रोजिना तामाङको परिवारमा ५ जना बहिरा छन् । रोजिना काभ्रे बहिरा विद्यालयको कक्षा ३ मा अध्ययनरत छिन् । उनका बाबु आमा दुबै बहिरा छन् । सोहि विद्यालयमा रोजिनाका दाजु इन्द्र कक्षा ९ मा अध्ययन गर्छन भने दिदी बसन्ती कक्षा ८ मा अध्ययन गर्छिन् । परिवारका सबै सदस्य बहिरा भए पछि आमा बुबाले छोराछोरीको अध्ययनका लागि तीनै जनालाई छात्राबासमा राखिदिएका छन् । तीनैजना दाजु बहिनीहरु काभ्रे बहिरा विद्यालयका उत्कृष्ट विद्यार्थीका रुपमा चिनिन्छन् । 
    रोजिनाको जस्तै विपना मानन्धरका परिवारमा पनि ४ जना बहिरा छन् । उनि कक्षा ७ मा अध्ययन गर्छिन् । उनका दाजु श्रीकृष्ण कक्षा ८ मा अध्ययन गर्छन् भने दिदी लक्ष्मी सोहि विद्यालयले उपलब्ध गराएको तीन महिने सिलाई सम्बन्धी सिप सिकिरहेकी छिन् । एकजना दिदीको विवाह भएको छ । रामेछाप जिल्ला खनियाँगाउँ ५ घर भएकी विपनाको परिवारमा यस्तो समस्याले कहिले काँहि संकट जस्तो लागे पनि अध्ययन गर्न पाउँदा हर्षित भएको अनुभव छ । बहिरा भएर पनि अध्ययन नै गर्न नपाउँदाको पीडा आफ्नै दिदी लक्ष्मी र विवाहित दिदीले भोगिरहनु परेको विपनाले बताउनु भयो । 
    काभ्रेपलाञ्चोक जिल्लाको विकट खानीखोला गाउँपालिका ५ ताल्ढुंङ्गा घर भएकी सोममाया जिम्बाका घरमा ३ जना बहिरा छन् । उनी कक्षा ७ मा अध्ययन गर्छिन् । उनको दाजु विरमान कक्षा ८ मा अध्ययन गर्छन् भने दिदी खरिमाया सिप सिकिरहेकी छिन् । महाभारत गाउँपालिका वडा नम्वर ४ फोक्सिङ्गटारका पारस जिम्बा कक्षा ७ मा अध्ययन गरिरहेका छन् । उनकी दिदी चमेली जिम्बा कक्षा ८ मा अध्ययन गर्छिन । दुबै जना बहिरा छन् । रोशी, बेथान्चोक, तेमाल लगायतका पालिकाहरुबाट बहिरा बालबालिकाहरु अध्ययन गरिहेका छन् । बहिरा विद्यार्थीहरुलाई अध्ययन गराउने र जो अध्ययन गर्दैन वा विद्यालय उमेर समुह भन्दा बाहिर गई सकेका बहिरा ब्यक्तिहरुलाई आत्मनिर्भर बनाउन सिप सिकाउन थालिएको प्रधानाध्यापक कृष्णप्यारी नकर्मीले बताउनु भयो । निरन्तरको प्रयास र अथक मेहनतका कारण बहिरा बालबालिकाहरुलाई शिक्षा प्रदान गर्न सकिए पनि भौतिक पूर्वाधार र शिक्षक दरवन्दी पर्याप्त हुन नसक्दा बहिरा विद्यार्थीहरुलाई उपलब्ध गराउनु पर्ने अन्य थुप्रै कुरा उपलब्ध गराउन नसकिएको प्रधानाध्यापक  नकर्मीले बताउनु भयो ।