पनौती/सरोकारवाला निकायले पनौती नगरपालिकालाई बालश्रम मुक्त नगर घोषणाका लागि सामुहिक प्रतिवद्धता जनाएका छन् । विश्व बाललश्रम विरुद्ध दिवसको अवसर पारेर आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा पनौती नगरपालिकाका जनप्रतिनिधि, बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्था, विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकाय र बालबालिकाका प्रतिनिधिहरुले बालश्रम मुक्त नगरपालिका घोषणा गरी निरन्तर टिकाई राख्ने सामुहिक प्रतिवद्धता जनाएका हुन । आर्थिक वर्ष २०८०÷८१ भित्र बालश्रम मुक्त नगर घोषणा गर्ने उनीहरुको प्रतिवद्धता छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, पनौती नगरपालिका, अन्तराष्ट्रिय श्रम संगठनको आयोजना तथा विश्व परिदृश्य नेपालको सहकार्यमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, उप–प्रमुख गिता बञ्जारा, श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयका सह–सचिव राजिव पोखरेल, विष्णु ढकाल, लोकनाथ भुसाल, अन्तराष्ट्रिय श्रम संगठनका नेपाल स्थित कार्यक्रम निर्देशक नुमान ओजगान, पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने, राष्ट्रिय मानवअधिकार आयोगका निमिक्त सचिव मुराहरी शर्मा, राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव इन्द्रादेवी खतान लगायत सरोकारवालको उपस्थिती रहेको थियो ।









