सिन्धुपाल्चोक/सेतीदेवी शारदा माध्यमिक विद्यालयको आयोजनामा सुनकोशी गाउँपालिका वडा नं. ७ लामोसाँघुमा पतंजली योग समिति काभ्रेबाट ५ दिने निःशुल्क खुल्ला योग विज्ञान शिविरको आयोजना गरिएको छ ।
शिविरको उद्घाटन पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख तथा केन्द्रिय सदस्य ग्रुवेन तौजलेले गर्नुभएको थियो । प्रमुख अतिथी तौजलेले स्वस्थ जीवनले नै सामाजिक क्षेत्रमा सकारात्मक योगदान पु¥याउन सकिने हुनाले उक्त योग विज्ञान शिविरबाट पाएका शिक्षालाई गाउँ गाउँ र वडा वडासम्म पु¥याउन प्रशिक्षार्थीहरु सँग अपिल गर्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक बासु जि.सी.ले स्वागत मन्तव्य राख्नु भएको थियो । शिबिरमा पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, उपाध्यक्ष प्रकाश कायष्ठ, महिला अध्यक्ष अनु श्रेष्ठ, संगठन मन्त्री श्यामकुमार श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको उद्घोषण पतंजली योग समिति सिन्धुपाल्चोकका महिला प्रभारी कविता राउतले गर्नु भएको थियो । शिविरको सभापतित्व विद्यालय संचालक समितिका अध्यक्ष सरला सुवेदीले गर्नुभएको थियो भने निःशुल्क योग विज्ञान शिविर पतंजली योग समिति सिन्धुपाल्चोक, महिला पतंजली योग समिति सिन्धुपाल्चोक र लामोसाँघु योग साधना केन्द्रको समन्वयमा आयोजना भएको थियो ।









