2026 April 26/ 03:13: 39pm

    बनेपा/प्रधानन्मन्त्री एवं काठमाडौ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले मुलुक आर्थिक दवाबबाट गुज्रिरहेको बताउनु भएको छ । ‘आन्तरिक तथा बाह्य क्षेत्रबाट समेत मुलुकले आर्थिक दबाबको सामना गरिरहेको छ’–प्रधानमन्त्री दाहालले भन्नुभयो । 
    काठमाडौ विश्वविद्यालयको धुलिखेलको २८ औ दीक्षान्त समारोहको दोश्रो चरणको कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति समेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक दबाब रोक्न सरकारले नीति तथा कार्यक्रम र बजेटमा ७ सय ५३ वटै पालिकामा उत्पादन र रोजगार बृद्धि गर्ने कार्यक्रम समावेश गरेको बताउनु भयो । ‘कृषिमा आधारित कार्यक्रम सबै स्थानीय तहमा केन्द्रित गरेका छौं’–प्रधानमन्त्री दाहालले भन्नुयो–‘यस्ता कार्यक्रममा दक्ष जनशक्ति समेत समावेश हुन सक्यो भने मुलुकलाई थप सहजता हुनेछ ।’ मुलुकमा विश्वविद्यालय खोल्ने होडबाजी चलिरहेको बताउँदै प्रधानमन्त्री दाहालले भएका विश्वविद्यालयको गुणस्तरियता बृद्धि गर्ने, विद्यार्थी कम हुँदै गएका कारण संकटमा पर्न थालेका सामुदायिक क्याम्पसहरु एकीकरण गर्ने र पूर्वाधार भएका स्थानमा मात्रै विश्वविद्यालय संचालन गर्नुपर्ने प्रधानमन्त्री दाहालले बताउनु भयो । शिक्षा सेवालाई निर्यातमुखी हुनबाट जोगाउन केहि कदम चाल्नु पर्ने भए पनि देशका लागि आवश्यक पर्ने दक्ष जनशक्ति विदेशिन रोक्ने उपाय उत्पादनमुखी र रोजगारमुखी कार्यक्रम संचालन गर्नुपर्ने बताउनु भयो । 
    आमन्त्रित प्राध्यापक डा. राजन वेलुकरले नेपाल र नेपालीहरुलाई दक्ष बनाउन गुणस्तरीय शिक्षाका लागि शैक्षिक संस्थाहरु अब्बल बनाउनु पर्ने बताउनु भयो । जलवायु अनुकुलन, विश्वब्यापी मान्यता तथा प्रतिस्पर्धामा उत्रन सक्ने दक्ष जनशक्ति तयार गर्न काठमाडौ विश्वविद्यालयलाई प्राध्यापक डा. राजन वेकुलरले शुभकामना दिनुभयो । काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले चालु शैक्षिक वर्षमा भर्नाको दर ७० प्रतिशत मात्रै रहेकाले विश्वविद्यालयका लागि चुनौतीपूर्ण अवस्था रहेको बताउनु भयो । ‘नेपाल भित्र काठमाडौ विश्वविद्यालय जस्ता अब्बल संस्था स्थापित छन् उच्च शिक्षाका लागि युवाहरु विदेशिनुको कारण गुणस्तरीय शिक्षा प्रतिको शंसयले नभई अन्योपूर्ण भविष्य हो’–प्रा.डा. भोला थापाले भन्नुभयो–‘विश्वविद्यालय भित्रै रोजगारीको अवसर प्रदान गरी विदेश पलायन हुनबाट रोक्न हरसम्भव प्रयास गरेका छौं ।’ 
    नेपालको उच्च शिक्षाका सबै आयामहरुको अन्र्तराष्ट्रियकरणका लागि विश्वविद्यालयले विशेष पहल गरेको बताउँदै प्रा.डा भोला थापाले काठमाडौ विश्वविद्यालय नबीनतम खोज तथा अनुसन्धानमा अब्बल सावित हुँदै गएको बताउनु भयो । सहकुलपति एवं शिक्षामन्त्री अशोककुमार राई, रजिस्ट्रार अच्युत वाग्ले लगायतले काठमाडौ विश्वविद्यालय र दीक्षान्तका सन्र्दभमा धारणा राख्नु भएको थियो । प्रधानमन्त्री दाहालले दीक्षान्त अघि ‘स्कुल अफ ल’ को नव निर्मित भवनको उद्घाटन गर्नु भएको थियो ।