धुलिखेल/कृषि क्षेत्रलाई प्राथामिकतामा राख्नु पर्ने माग सहित नेकपा एमाले संवद्ध अखिल नेपाल किसान महासंघ काभ्रेपलाञ्चोकले जिल्ला स्थित १३ वटै पालिकालाई ज्ञापन पत्र बुझाएको छ । पालिकाहरु आगामी आर्थिक वर्षको वजेट निर्माणको चरणमा रहेको र बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिने मागसहित ज्ञापन पत्र बुझाएको अखिल नेपाल किसान महासंघका अध्यक्ष श्यामसुन्दर चौलागाईले बताउनु भयो ।
कृषि कार्यको लागि आवश्यक मलखाद, विउ विजन तथा सामाग्री किसानको आवश्यकता अनुसार समयमै उपलब्ध गराउनुपर्ने, पालिकाको कुल बजेटको २० प्रतिशत रकम कृषि क्षेत्रमा विनियोजन गर्नुपर्ने, कृषि उपजहरुको संकलन तथा बिक्रि केन्द्र स्थापना गर्नुपर्ने, कृषि उत्पादनहरुको न्यूनतम खरिद मुल्य तोक्नुपर्ने तथा उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्नुपर्ने, किसान परिचयपत्र को व्यवस्था गरी किसानहरुलाई नियमित तालिम दिनुपर्ने लगायतका माग समेटिएका छन् । रासायनिक मल तथा विउविजनको कालाबजारी नियन्त्रण र बजार अनुगमनको लागि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ज्ञापनपत्र बुझाएको छ । अखिल नेपाल किसान महासंघ काभ्रेपलाञ्चोकका पदाधिकारी सहितको टोलीले प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल लाई उहाँकै कार्यकक्षमा ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा बजार अनुगमन गरी सरकारी दररेटमै सहज रुपमा रसायनीक मल किन्न पाइने वातावरण निर्माण गर्नुपर्ने, गुणस्तरहिन विउविजन तथा बिसादिहरु बजारमा बिक्रि वितरण भइरहेकोले बजार अनुगमन गरी आवश्यक कार्वाही गर्नुपर्ने, किसानहरुको हक अधिकारको लागि संघर्षरत संघ÷संगठनहरु तथा कृषिसंग सरोकारवाला सरकारी निकायहरुविच किसानहरुको समस्याको विषयमा अन्तरकृयात्मक छलफल गराई किसानका समस्या समाधान गर्नुपर्ने तथा उत्पादित बस्तुहरुको मुल्य निर्धारण गर्नुपर्ने लगायतका मागहरु समेटिएका छन् ।









