धुलिखेल अस्पतालका विरामीलाई दुधका परिकार
धुलिखेल/विश्व दुग्ध दिवसको अवसर पारेर बागमति प्रदेश दुग्ध विकास बोर्ड हेटौडाले धुलिखेल अस्पातल, चितवन अस्पताल तथा मकवानपु र चितवनमा रहेका दुई आश्रममा दुध र दुग्धजन्य परिकारहरु हस्तान्तरण गरेको छ ।
‘दुधको सेवन तथा उपयोगले नागरिकहरु स्वस्थ बनाउन सहज हुन्छ’–बागमति प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिकाबल्वधव सापकोटाले भन्नुभयो–‘दुग्ध दिवसको अवसरमा काभ्रेपलाञ्चोक, मकवानपुर र चितवनमा दुध र दुग्धबाट बनेका केहि परिकाहरु उपलब्ध गराएका छौं ।’ धुलिखेल अस्पतालमा रहेका विरामीहरुका लागि उपयोग गर्ने गरी बागमति प्रदेश दुग्ध विकास बोर्डका तर्फबाट २ सय ५० लिटर दुध उपलब्ध गराईएको निर्देशक डा. सचिता ज्ञवालीले बताउनु भयो । दुधका साथै दुधबाट बनेका परिकार ६० लिटर दहि, १५ केजी घिउ र १० केजी पनिर उपलब्ध गराईएको निर्देशक ज्ञवालीले बताउनु भयो । विकास बोर्डका तर्फबाट उपाध्यक्ष टिकाबल्धव सापकोटा, निर्देशक डा. सचिता ज्ञवाली, सहायक निर्देशक मोहनकुमार यादव र सहयोगी अमृता केसी सहभागि थिए भने अस्पतालका तर्फबाट मेट्रन सुबासना माकजु लगायतको टिम सहभागि थियो । बागमति दुग्ध विकास बोर्डले कोरोनाको समयमा पनि धुलिखेल अस्पताल लगायतका स्थानमा विरामीहरुका लागि दुध र दुग्धजन्य परिकारहरु उपलब्ध गराएको थियो ।









