धुलिखेल/कक्षा ८,९ र १० मा अध्ययन गर्ने बालबालिकाहरुले सामाजिक विषयमा ‘निर्वाचन’, संघीय तथा प्रतिनिधि सभा र राष्ट्रिय सभा, संसद गठनको प्रकृया लगायतका संविधानमा उल्लेख भएका पुस्तकमा पढ्नु पर्ने विविध विषयलाई सञ्जिवनी नमुना माध्यमिक विद्यालयले मतदान मार्फत अभ्यास गराएको छ ।
‘विद्यार्थीहरुलाई संसदिय अभ्याससँगै सरकार गठन लगायतका विविध प्रकृयाका लागि हुने निर्वाचनका बारेमा प्रयोगात्मक रुपमा जानकारी गराउने उदेश्यले मतदान आयोजना गरिएको हो’–विद्यालयका प्रधानाध्यापक लोकेन्द्र ढकालले भन्नुभयो–‘विद्यालयले १५ वर्ष देखि विद्यार्थी नेता छान्ने र अतिरिक्त कृयाकलाप तथा वर्षभरी विद्यालयमा हुने सांस्कृतिक, सामाजिक कृयाकलाप तथा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने मतदानको प्रमुख उदेश्य हो ।’ कक्षा ९ र १० लाई सामाजिक विषय पढाउने दुई शिक्षक शशिकला काफ्ले र सानुकान्छा श्रेष्ठ निर्वाचन अधिकृत तोकिएका थिए । रिपु क्षेत्री प्रमुखमा निर्वाचित भए । उनका प्रतिस्पर्धी अन्य पाँच विद्यार्थीले उम्मेदवारी दर्ता गराएका थिए । उपप्रमुख पदमा तीन जना उम्मेदवारमा दुई जना विजयी भए । प्रतिक्षा घिमिरे र राजन उपाध्याय विजयी भएको निर्वाचन समितिले घोषणा गरेको थियो ।
कक्षा ४ देखि १० सम्मका ८ सय विद्यार्थी सहभागि निर्वाचनका लागि ९ उम्मेदवार प्रतिस्पर्धामा थिए । इसिडी देखि कक्षा १० सम्म एक हजार विद्यार्थी अध्ययनरत विद्यालयमा आयोजना गरिएको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतपेटिका, स्वस्तिक छाप लगायतका अन्य सामाग्री उपलब्ध गराएको थियो । निर्वाचनका लागि सहजिकरण कक्षा ६,७ र ८ का सामाजिक विषय शिक्षक उद्धवप्रसाद तिमल्सिना, अतिरिक्त कृयाकलाप संयोजक सुन्दरलाल श्रेष्ठले गर्नु भएको थियो भने विद्यालय ब्यवस्थापन समिति सदस्य केपी बञ्जारा र प्रल्हाद शर्मा हुमागाईले अनुगमन गर्नु भएको थियो । निर्वाचन पर्यवेक्षण तथा अन्य कार्य प्रधानाध्यापक लोकेन्द्र ढकाल लगायतले गर्नु भएको थियो । यस अघि विद्यालयले ६ वटा सदनबाट दुई दुई जना विद्यार्थी प्रतिनिधि छनौट गरिसकेको छ ।
नेपालको संविधानले प्रत्यक्ष रुपमा सरकार प्रमुख छान्ने ब्यवस्था गरेको छैन । आम नागरिकले अस्थिर सरकारका कारण प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक रहेको बताए पनि संविधान संशोधन विना उक्त ब्यवस्था सम्भव छैन । पाठ्यक्रममा उल्लेख भएको प्रत्यक्ष तथा अप्रत्यक्ष निर्वाचनले बालबालिकाहरुको रुची र त्यसको अभ्यासका बारेमा जानकारी गराउन सकिने प्रावधान राखिएकाले विद्यालयले प्रत्यक्ष निर्वाचनको माध्यमबाट विद्यालयको प्रमुख र उपप्रमुख छनौट गरेको प्रधानाध्यापक लोकेन्द्र ढकालले बताउनु भयो । मतदानका लागि विद्यालयले जेठ १८ गते विहिबार उम्मेदवारी दर्ता गरेको थियो भने निर्वाचनको दिन विहान उम्मेदवारका बारेमा दावि विरोध लगायतका कार्यक्रम राखेको थियो । विहान १० बजेबाट दुई बजेसम्म तोकिएको निर्वाचनको मत परिणाम ४ बजे सार्वजनिक गरिएको थियो ।









