बनेपा/मोबाईल व्यवसायमा सुरक्षा चुनौती बढ्दै गएको व्यवसायीले गुनासो गरेका छन् । व्यापारमा आएको गिरावट, महंगो भाडा, अत्यन्तै न्युन मार्जिन, झण्झटिलो बिमा प्रकृया तथा अनलाइन व्यवसायीकोे मनलाग्दी मूल्यले मोबाइल व्यवसायमा चुनौती बढ्दै गएको व्यवसायीले बताएका छन् ।
काभ्रे मोबाइल व्यवसायी संघले बनेपामा आयोजना गरेको सुरक्षा सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रममा व्यवसायीेले उक्त गुनासो गरेका हुन् । काभ्रे उद्योग वाणिज्य संघ र इलाका प्रहरी कार्यालयसँगको सहकार्यमा अभिमुखसकरण कार्यक्रम भएको थियो । कार्यक्रममा मोवाइल व्यवसायी महासंघका महासचिव रमेश घिमिरेले सुरक्षा चुनौती थपिँदै गएकाले सचेत बन्न व्यवसायीलाई आग्रह गरेका छन् । मोवाइल व्यवसायमा ४÷५ प्रतिशत मात्रै मार्जिन रहेकाले व्यवसाय धान्नै मुस्किल परेको उनको गुनासो छ । उनले मोवाइलको मार्जिन ८–१० प्रतिशत पुर्याउन समेत माग गरेका छन् । मोवाइल व्यवसायी कम्पनीको गोठालो जस्तो भएको भन्दै महासचिव घिमिरेले व्यवसाय गरेवापत केहि नाफा नरहेको बताए । कहिले काँही कम्पनीले बदमासी गर्ने गरेको उनले बताए । कम्पनीले तोके अनुसार १ वर्षको लागि वारेन्टी दिने गरे पनि कुनै–कुनै कम्पनी ६ महिनामै सम्पर्क विहिन हुँदा उपभोक्ताको विश्वास जित्न कठिन परेको उनले बताएका छन् । अनलाइन व्यवसायका कारण पनि व्यवसायमा चुनौती थपिएको उनको तर्क छ । अनलाइन व्यवसायीले जथाभावी मुल्य राख्दा व्यवसायी मारमा परेको उनले बताए । मुल्यमा नखेल्न समेत उनले चेतावनी दिएका छन् । महासचिव घिमिरेले प्रयोग गरेको मोवाइल खरिद विक्रिको बैधानीका व्यवस्था गर्न माग गरेका छन् ।
ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रेशम बोहोराले भने कानुनको पालना सबैले गर्नुपर्ने बताए । कार्यक्रममा उनले कानुनी व्यवस्था बारे जानकारी गराएका थिए । यस्तै वाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोकेले मोवाइल व्यवसायमा देखिएका समस्या समाधान गर्ने उपायस्वरुप अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताएका छन् । व्यवसायीको भोग्नु परेको समस्या समाधानका लागि उद्योग वाणिज्य संघको तर्फबाट प्रयास गरिने उनले बताए । मोवाइल विक्रेतामा मोबाईल सम्बन्धी प्राविधिक ज्ञानसँगै कानुनी सचेतना पनि जरुरी रहेको उनको भनाई थियो । कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र वैदार, काभ्रे मोबाईल व्यवसायी संघका अध्यक्ष सत्य श्रेष्ठ, उपाध्यक्ष प्रेम दाहाल, सचिव पवन बनेपाली, कोषाध्यक्ष मधुर दाहाल लगायतले मन्तव्य राखेका थिए ।
हरेक अनुसन्धानमा जोडिने मोबाईल व्यवसाय चुनौतीपुर्ण बन्दै गएको व्यवसायीको भनाई थियो । कुनै घटनासँग सम्बन्धित मोबाईल बनाउँदा प्रमाण मेटाएको भन्दै कारवाहीमा पर्ने गरेको उनीहरुको गुनासो छ । व्यापारमा आएको गिरावट र महंगो भाडाका कारण व्यवसाय गर्नै नसक्ने अवस्थामा पुगेको मोबाइल व्यवसायीको गुनासो छ ।









