2026 April 26/ 02:59: 09pm

भकुण्डे/भुकुण्डेवेशीमा रहेको मेथिनकोट अस्पतालको सेवा प्रवद्र्धन गर्न पत्रकारसँग अन्तरक्र्रिया कार्यक्रम आयोजना गरिएको छ । अस्पतालमा आयोजित कार्यक्रममा नगर प्रमुख कुन्साङ लामा, उप–प्रमुख रत्न बहादुर लामा, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मधुकर दाहाल, अस्पताल व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद खनाल, प्रशासन प्रमुख कमल भुर्तेल तथा पत्रकारहरुको उपस्थिी रहेको थियो । कार्यक्रममा नगरप्रमुख लामाले कानुनी प्रकृयाका कारण अस्पताल भवन व्यवस्थित गर्न नसकिएको बताए । उपलब्ध भएको जग्गामा वन कार्यालयले भवन बनाउन रोकेको तथा अन्यत्र ठाउँको जग्गा प्रबन्ध गर्न कानुनी झण्झट रहेको उनले बताए । 
    यद्यपी अस्पतालले प्रदान गर्ने सेवालाई भने सम्भव भएसम्म गुणस्तरीय र प्रभावकारी बनाइरहेको उनको भनाई छ । यस्तै अस्पताल प्रमुख डाक्टर मधुकर दाहालले चालु आर्थिक वर्षमानै ५० शैयाको अस्पताल बन्ने बताउका छन् । रेडक्रससँगको समन्वयमा ब्लड बैंक सञ्चालन गर्ने योजना रहेको उनले बताए । यस्तै व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद खनालले विमा मार्फत प्राप्त हुने औषधी समयमै प्राप्त नहुँदा जनाताले गुनासो गर्ने गरेको बताए । भौतिक संरचना निर्माण तथा सुधारमा भने उल्लेख्य प्रगती भएको उनले जानकारी दिए । कार्यक्रममा डाक्टर अनन्दमणी उपाध्यायले अस्पतालले प्रदान गरिरहेका सेवा बारे जानकारी गराएका थिए । उनका अनुसार मेथिन्कोट अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा सुरु गरिएको छ । अस्पतालले आकस्मिक सेवा अन्तर्गत प्रयोगशाला, एक्स रे, प्रसूति, फार्मेसी तथा अन्य सेवा प्रदान गरिरहेको छ । २०५४ सालमा साविक मेथिन्कोट गाविस रहँदा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्थापना भएको उक्त संस्था २०६६ सालमा १५ शैयाको अस्पतालको रुपमा विस्तार गरिएको थियो । संघीयताको कार्यान्वयनसँगै उक्त अस्पताललाई नगर अस्पतालको रुपमा परिणत गरिएको थियो । प्रदेश सरकारले प्रादेशिक अस्पतालको रुपमा विस्तार गर्ने निर्णय गरेसँगै अस्पतालमा सेवा र जनशक्ति थप गरिएको हो ।