विकास तिमल्सिना
काठमाडौ
सुचनाको हक सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । राष्ट्रिय सुचना आयोगको सहयोग तथा सुचनाको हकका लागि राष्ट्रिय महासंघको आयोनामा सार्वजनिक सेवाको पारदर्शिता र सार्वजनिक वित्तको निगरानिका लागि प्रशिक्षक प्रशिक्षण तालिम दिइएको हो ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले सुचनाको हक कार्यान्वयनको थालनीको असल अभ्यास सुरु गरेको भन्दै महासंघप्रती आभार व्यक्त गर्नुभयो । सुचनाको हकको बारेमा थाहा नपाएर कानुनी र संवैधानिक व्यवस्थाको प्रयोग गर्न नसकेका आम नागरिकमा सुचनाको हक सम्बन्धी जानकारी दिन आवश्यक रहेको उहाँको भनाई थियो । सुचना सहज रुपमा प्राप्त गर्न नसकेमा कानुनी उपचार रहेको विषय धेरैलाई थाहा नै नभएको उहाँले बताउनुभयो । सबै निकायले आफुले गरेका कार्यहरु पारदर्शि रुपमा सार्वजनिक गर्नुपर्ने पनि मन्त्री शर्माले बताउनुभयो । हरेक सरकारी कार्यालयमा सुचना अधिकारी तोकिएकाले आम नागरिकले चाहेको समयमा सुचना उपलब्ध गराउन प्रतिवद्ध रहेको उहाँको भनाई छ । मन्त्री शर्माले सुचनाको हकको गलत प्रयोग नगर्न पनि सचेत गराउनुभएको छ ।
प्रशिक्षण कार्यक्रममा संविधानविद एवं प्रशासनविज्ञ काशीराज दाहालले स्थानीय सेवा प्रवाह र सुचनाको हक सम्बन्धी कानुनी व्यवस्था र भइरहेका अभ्यास बारे जानकारी गराउनुभएको थियो । उहाँले स्थानीय सरकारले गरिरहेका कार्यहरु कानुन बमोजिम छन्÷छैनन नागरिकले निगरानी गर्नुपर्नेमा जोड दिनुभएको छ । पारदर्शिता कायम गर्नका लागि अधिकतम सुचना प्रवाह जरुरी रहेको उहाँको भनाई थियो । यस्तै नागरिकको निगरानी, सहभागिता र संलग्नताले पनि सार्वजनिक सेवालाई पारदर्शि बनाउन सकिने उहाँको धारणा छ । राष्ट्रिय सुचना आयोगकी सुचना आयुक्त कमला ओलीले सुचनाको हक प्रयोग गर्नेको संख्या बढ्दै गएको जानकारी दिनुभयो । सुचनाको हक कार्यान्वयनका लागि आयोगले अधिकतम प्रयास गरेको बताउँदै ओलीले सुचनाको हकको गलत प्रयोग गरेको उजुरी समेत आयोगलाई प्राप्त भएको बताउनुभएको छ ।
प्रशिक्षण तालिममा महिला अधिकार र सुचनाको हक सम्बन्धी बबिता बस्नेत, स्वास्थ्य अधिकार र सुचनाको हक डा.पवन शाह, युवा अधिकार र सुचनाको हक त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक दिपेश घिमिरे, सार्वजनिक वित्त र सुचनाको हक फ्रिडक फोरमका कृष्ण सापकोटा, कृषि तथा पशुपालन र सुचनाको हक डा.चन्द्र ढकाल, वन वातावरण र सुचनाको हक देवेसमणी त्रिपाठी, यौनिक अल्पसंख्यक र सुचनाको हक सुनिलबाबु पन्त, शिक्षाको अधिकार र सुचनाको हक सम्बन्धी प्रशिक्षण शिक्षा मन्त्रालयका सुचना अधिकारी शंकर अधिकारीले दिनुभएको थियो । महासंघका अध्यक्ष उमीद बागचन्दले लोकतन्त्रको आधार नै सुशासन र जवाफदेहीता भएकाले सुचनाको हक महत्वपुर्ण रहेको बताउनुभयो । सुचनाले पारदर्शिता कायम गर्न समेत सघाउने उहाँको भनाई छ । तालिममा देशका ७ प्रदेशबाट पत्रकार, कानुन व्यवसायी, सुचनाका हक सम्बन्धी अभियानका अभियान्ताको सहभागिता रहेको थियो । तालिमले आगामी कार्यदिशा समेत तय गरेको ताराबहादुर भण्डारीले जानकारी दिनुभयो ।









