पनौतीका जात्रा पर्वलाई निरन्तरता दिन १७ वर्षपछि तान्त्रिक विद्या
विकास तिमल्सिना/पनौती
पनौती क्षेत्रमा परापुर्वकालदेखी चल्दै आएको सनातन हिन्दु धर्ममा आधारित विभिन्न जात्रा, पर्वहरुमा पुजापाठका साथै सम्पुर्ण कर्मकाण्डहरु गर्नलाई आवश्यक होम्पी दानेगु (तान्त्रिक विद्या) प्रदान गरिएको छ ।
मौलिक संस्कृति एवं रीतिरिवाजलाई जीवन्त राख्न २ जनालाई तान्त्रिक विद्या दिइएको पनौती जात्रापर्व मुल व्यवस्थापन समितिका अध्यक्ष कृष्णधन कर्माचार्यले जानकारी दिनुभयो । मंगलबार पनौतीमा आयोजित कार्यक्रममा प्रा.डा. सिद्धिवीर कर्माचार्यले सत्यनारायण कर्माचार्य र गौरीनारायण कर्मचार्यलाई तान्त्रिक विद्या प्रदान गर्नुभएको हो । यससँगै पनौतीको जात्राको शुभारम्भ र जात्रा हुने निश्चित भएको डा. सिद्धिवीर कर्माचार्यले बताउनुभयो । यसअघि १७ वर्षपहिले पनि पनौतीको जात्रा रोकिने अवस्था आएपछि स्थानीय शुकुदेव कर्माचार्यलाई तान्त्रिक विद्या दिएर जात्रा सञ्चालन गरिएको थियो । उहाँको स्वर्गारोहण पश्चात जात्रा पर्व नै रोकिने अवस्था सिर्जना भएको थियो । वृद्धावस्थामा रहनुभएका रामलाल कर्माचार्यले समेत पुजाआजा गर्न नसक्ने स्थिती बनेपछि मंगलबार २ जनालाई तान्त्रिक विद्या प्रदान गरिएको हो । समय–समयमा जात्रा पर्व सञ्चालन गर्न समस्या सिर्जना भएकाले नागपञ्चमीको दिनमा कम्तीमा २५ जनाले दिक्षा प्रदान गरिने जात्रापर्व मुल व्यवस्थापन समितिका अध्यक्ष कृष्णधन कर्माचार्यले बताउनुभयो ।
पनौती नगरपालिका उप–प्रमुख गीता बञ्जाराले पनौती नगरपालिका वडा नम्बर ७ लाई सम्पदामैत्री वडाको रुपमा विकास गरिने बताउनुभयो । पनौतीमा सञ्चालित जात्रा, पर्व, धर्म, सस्कृतिको जगेर्ना आवश्यक र जरुरी रहेको उहाँको भनाई थियो । कार्यक्रममा पनौती नगरपालिकाले जात्रा व्यवस्थापन समितिसँग सहकार्य गरेर सम्पदा संरक्षणमा कार्य गरिरहेको उप–प्रमुख बञ्जाराले बताउनु भयो । पनौती नगरपालिका वडा नम्बर ७ मा मात्रै हप्तामा २÷३ वटा जात्रा पर्व मनाउने गरिएको भन्दै बञ्जाराले खुसी व्यक्त गर्नुभयो । पनौती सस्कृतिको धनि नगर रहेको उहाँको भनाईछ । सस्कृति र पर्वको महत्व वुझाउनुपर्नेमा जोड दिँदै उप–प्रमुख बञ्जाराले नयाँ पुस्तालाई पनि वर्षौदेखी चलिआएका चाडपर्व बारे जानकारी गराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सविन ताम्राकारले सडक, विद्युत, खानेपानीसँगै सम्पदा संरक्षण सबैभन्दा ठूलो विकास भएको बताउनुभयो । वडामा रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रलाई जीवन्त राख्न आवश्यक कार्य गरिरहेको ताम्राकारले बताउनुभयो । तान्त्रिक विद्या प्रदान कार्यक्रममा स्वागत मन्तव्य राख्दै पनौती जात्रा पर्व मुल व्यवस्थापन समिति उपाध्यक्ष शिवनारायण घुल्लुले २÷३ वर्ष पहिले नै दिक्षा प्रदान गर्ने योजना भएपनि विविध कारण सम्भव नभएको बताउनुभयो । शुकुदेव कर्माचार्यको निधन पश्चात पनौतीको जात्रामा विधि पुजा गर्न अरु व्यक्ति नभएपछि तान्त्रिक विद्या दिइएको घुल्लुले जानकारी दिनुभयो ।
कार्यक्रममा स्वर्गिय पृथुलाल कर्माचार्य, दिलबहादुर कर्माचार्य, सुकुदेव कर्माचार्य, सिद्धिलाल कर्माचार्यलाई मरोणपरान्त सम्मान गरिएको थियो । मौलिक संस्कृति एवं रीतिरिवाजलाई जीवन्त राख्न योगदान गरेको भन्दै सम्मान गरिएको हो । वृद्धावस्थामा रहनुभएका रामलाल कर्माचार्यलाई पनि संस्कृति संरक्षणमा योगदान गरेकोमा सम्मान गरिएको छ । त्यसै गरी तान्त्रिक विद्या प्रदान गर्नुहुने प्रा.डा. शिद्धिवीर कर्माचार्य, महेश कर्माचार्य, ज्ञानेन्द्रवीर कर्माचार्य र गुरुआमा रेणु कर्माचार्यलाई पनि सम्मानपत्रद्धारा सम्मान गरिएको छ ।
कार्यक्रममा पनौती जात्रापर्व मुल व्यवस्थापन समिति अध्यक्ष कृष्णधन कर्माचार्य, सल्लाहकार लक्ष्मीनारायण ताम्राकार, पुर्व वडा अध्यक्ष महेश कर्माचार्य, पुर्व वडा सदस्य, पुरुषोत्तम कर्माचार्य, जीवनसुन्दर रघु श्रेष्ठ, काठंःमन्दिर व्यवस्थापन समिति अध्यक्ष हरिशरण सुर्यवंशी लगायत जनप्रतिनिधि र स्थानीयको उपस्थिती रहेको थियो । जेष्ठ शुक्ल पूर्णिमाको दिन मनाइने पनौती जात्राको तयारी सुरु भएको छ । जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भनिन्छ । यस वर्षको हिलेजात्रा यही जेठ १९ गतेबाट सुरु भएर २१ गते समापन हुँदैछ । कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष औपचारिक पूजाअर्चना मात्रै गरी जात्रा मनाइएको थियो ।









