2026 April 26/ 01:28: 08pm

           धुलिखेल/धुलिखेल नगरपालिका भित्र रहेका मासु पसल तथा बधशालाको अनुगमन गरिएको छ । 
         भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेपलाञ्चोक र धुलिखेल नगरपालिकाको संयुक्त टोलीले बजार क्षेत्रमा रहेका मासु पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा व्यवसाय दर्ता÷नविकरण गरे नगरेको, मासु विक्री गर्ने स्थान तथा बधशालाको सरसफाई लगायतको अनुगमन गरिएको धुलिखेल नगरपालिका पशु सेवा शाखा प्रमुख पुरुषोत्तम हुमागाँईले जानकारी दिनुभयो । यसभन्दा अघि अनुगमनका क्रममा दिइएको निर्देशन पालना भए÷नभएको समेत हेरिएको हुमागाईले बताउनु भयो । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र काभ्रेका प्रमुख डाक्टर नितेश कुमार कार्कीले बजार अनुगमनका क्रममा कतिपयले व्यवसाय दर्ता नगरेको, सरसफाइमा ध्यान नदिएको भेटिएकाले मापदण्ड पालना गर्दै मासु विक्रिवितरण गर्न सचेत गराइएको जानकारी दिनुभएको छ । मानिसको स्वास्थ्यसँग जोडिएको विषयमा संवेदनशील बन्न व्यवसायीलाई उहाँको आग्रह छ । धुलिखेल नगरपालिकामा हालसम्म ५३ वटा मासु पसल दर्ता भएका छन् । अनुगमनमा उप–प्रमुख निराजन जंगम, आर्थिक विकास समिति संयोजक नारायण बडाल, स्वास्थ्य शाखाका सरद थापा, पशुसेवा शाखाका डाक्टर चरण कमल धिताल, पशु प्राविधिक बद्री तिमल्सिना लगायतको उपस्थिति रहेको थियो । अनुगमनलाई निरन्तरता दिने उप–प्रमुख निराजन जंगमले बताउनुभयो । पटक पटक दिइएको निर्देशनहरु पुनः अनुगमन गर्दा पालना नभएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने नगरपालिकाले जनाएको छ ।