2026 April 26/ 01:28: 39pm

पाँचखाल/सशस्त्र प्रहरी बल, नेपाल नम्वर १५ गण हेडक्वाटर, पाँचखाल नगरपालिका वडा नम्वर ३ कुरकुरेडाँडा काभ्रेपलाञ्चोकको २१ औ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाईएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्वर ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्वु, काठमाडौका शशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक विनोदराज श्रेष्ठको प्रमुख आतिथ्यतमा सम्पन्न भएको छ ।
    ‘सशस्त्र प्रहरी बलको स्थापनाको उदेश्य अनुसार समुदाय र राष्ट्रका लागि महत्वपूर्ण भूमिका खेलेको छ’– शशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक विनोदराज श्रेष्ठले भन्नुभयो–‘मुलुकका हरेक विपद तथा संकटहरुमा मुख्य भूमिका खेलेको छ । नागरिकहरुको जिउ ज्यानको रक्षा तथा राष्ट्रको सुरक्षा संवेदनशिलतामा समेत महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको छ ।’ गण र गणमा कार्यरत सशस्त्र प्रहरी मुलुकमा आई पर्ने हरेक समस्यामा नागकिरहरुको पक्षमा उभिनु पर्ने शशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक विनोदराज श्रेष्ठले बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले विगतमा सशस्त्र प्रहरीले खेलेको भूमिका सहनिय रहेको बताउनु भयो । ‘संकट ब्यवस्थापन तथा विपद न्यूनिकरण र विपदमा परेकाहरुको उद्दार तथा पुर्ननिर्माणमा खेलेको भूमिकाले नागरिकहरुको जिउ ज्यान बचाएको छ’–प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भन्नुभयो–‘नागरिकहरुको पक्षमा निरन्तर सक्रिय हुँदै अब्बल हुनु आवश्यक छ ।’ 
    कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्वर १५ गण हेडक्वाटरबाट सप्ताहब्यापी कार्यक्रममा सहभागिहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । सप्ताहब्यापी कार्यक्रम अन्र्तगत रक्तदान, बृक्षारोपण, विपद ब्यवस्थापन सम्वन्धी विद्यालय स्तरमा जनचेतना मुलक कार्यक्रम, चण्डेश्वरी मन्दिरमा सरसफाई, अतिरिक्त कृयाकलापहरुको प्रतिस्पर्धा गराएको थियो । सोहि प्रतिस्पर्धामा उत्कृष्टहरु, पूर्व प्रहरीका परिवार, सहयोगीहरु तथा कार्यालयमा उत्कृष्टहरुलाई सम्मान गरिएको थियो । विविध साँस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको कार्यक्रममा सशस्त्र प्रहरी बलले विभिन्न समयमा गरेका महत्वपूर्ण कार्यक्रमहरुका बारेमा जानकारी गराईएको थियो । सशस्त्र प्रहरी बल, नेपाल नम्वर १५ गण हेडक्वाटर काभ्रेका प्रमुख एसपी अच्युतप्रसाद मजगैयाले स्थापना देखि हालसम्म विभिन्न स्थानमा रहेर गरेका कार्यहरुका बारेमा जानकारी गराउनु भएको थियो । 
    सशस्त्र प्रहरी बल, नेपाल नम्वर १५ गण हेडक्वाटर २०५८ साल चैत्र ३ गते मन्त्रीपरिषद्को निर्णयबाट स्थापना भएको थियो । देवि कालिञ्चोक भगवति माताको नामाकरणबाट २०५९ बैशाख २४ गते चितवनमा स्थापना भएको उक्त गण २०६० भदौ १३ गते काठमाडौको किर्तिपुरमा स्थानान्तरण भएको थियो । २०६२ साल पुष २७ गते सोहि स्थानबाट पुनः चोभार कीर्तिपुरमा स्थानान्तरण भएको गण २०७६ बैशाख १६ गते देखि काभ्रेको पाँचखालमा स्थानान्तरण भएको थियो । जिल्लामा हुने हरेक विपद् तथा संकटमा सशस्त्र प्रहरी बलले खेलेको भूमिका सहनिय रहेको सहभागिहरुले बताएका छन् ।