2026 April 26/ 01:27: 37pm

    पनौती/पनौती नगरपालिका वडा नम्बर ७ मा बालमैत्री स्थानीय शासनका लागि नीतिगत सशक्तिकरण कार्यक्रम आयोजना गरिएको छ । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा पश्चातको समिक्षा तथा दीगोपनाका लागि नीतिगत सशक्तिकरण कार्यक्रम आयोजना गरिएको हो । 
    कार्यक्रममा पनौती नगरपालिका उप–प्रमुख गीता बञ्जारा, वडा नम्बर ७ का वडा अध्यक्ष सविन ताम्राकार, वडा सदस्य सरु देउला, तारनी दुवाल, रामसुन्दर भुजु, श्यामकुमार बस्नेत, बालमैत्री कार्यक्रमका राष्ट्रिय प्रतिनिधि विष्णुप्रसाद चौवे, राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, बाल समुहका प्रतिनिधि लगायत सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रममा उप–प्रमुख गीता बञ्जाराले नगरपालिकाले २०७४ सालबाट सुरु गरेको बालमैत्री नगर अभियान सफल बनेको बताउनुभयो । बालमैत्री सुचक पुरा गर्नका लागि गरिएका कार्यले सकारात्मक परिवर्तन गरेको उहाँको भनाई छ । ३९ वटा सुचक पुरा गरेसँगै पनौती नगरपालिका बालमैत्री नगरपालिका घोषणा भएको थियो । थप सुचक पुरा गर्ने अभियानमा नगरपालिका अघि बढेको उप–प्रमुख बञ्जाराले जानकारी दिनुभयो । पछिल्लो समय वातावरणीय प्रभावका कारण विभिन्न रोगहरु देखा परेकाले बालबालिकालाई वातावरण सरसफाइमा जोड्न पनि उहाँको आग्रह छ । यस्तै वडा अध्यक्ष सविन ताम्राकारले विकास निर्माणका कामसँगै बालबालिकाको व्यक्तित्व विकासलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । 
    सिमित स्रोतबाट धेरै काम गर्नुपर्ने अवस्था रहेकाले बजेट थप गरिदिन नगरपालिकालाई उहाँले आग्रह गर्नुभएको छ । समृद्ध नगरपालिका बनाउन बालबालिकामा लागनी आवश्यक रहेको उहाँले बताउनुभयो । सबै बालबालिकाले शिक्षा प्राप्त गर्ने अवस्थाको सिर्जन ागर्न वडा लागिरहेको वडा अध्यक्ष ताम्राकारले बताउनुभएको छ ।  पनौती नगरपालिका वडा नम्बर ७ मा १९ वटा बाल समुह र एउटा वडा बाल सञ्जाल रहेको बालमैत्री सहजकर्ता गीता तिमल्सिना जानकारी दिनुभयो । बालमैत्री वडा घोषणा पश्चात नीति निर्माणमा बाल सहभागिताका साथै व्यक्तित्व विकासमा सहयोग पुगेको बालबालिकाले बताएका छन् ।  – आरजू माकजू, प्रशिक्षार्थी