विकास तिमल्सिना/पनौती
पनौती नगरपालिका वडा नम्बर ४ ले फरक क्षमता, अपांगता भएका व्यक्ति तथा अभिभावकहरुलाई मनोविमर्श सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बालमैत्री स्थानीय शासन दिगोपनाका लागि सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपक दाहाल, नगर कार्यपालिका सदस्य राधिका विश्वकर्मा, वडा सदस्य सविता थापा, कुमार बस्नेत, वडा बाल सञ्जालका अध्यक्ष पुरब बञ्जारा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा अपांगताको क्षेत्रमा लामो समयदेखी क्रियाशिल कान्छीमैया थापा, मनोविमर्शकर्ता उर्मिला रञ्जितकारले अपांगता हुनुको कारण, रोकथामका उपाय, कानुनी व्यवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । प्रशिक्षक थापाले गर्भावस्थादेखी नै गर्भ जाँच गर्न, खोपको मात्रा पुरा गर्न, खानपानमा ध्यान दिन आग्रह गर्नुभएको छ ।
उपयुक्त उमेर र समयको अन्तरालमा बच्चा जन्माउन, जथाभावी धुम्रपान र मद्यपानको प्रयोग नगर्न उहाँको सुझाव छ । यस्तै मनोविमर्शकर्ता उर्मिला रञ्जितकारले अपांगता भएका व्यक्तिहरुको आवश्यकता र चाहना वुझ्नुपर्ने बताउनुभयो । उनीहरुलाई पारिवारिक, सामाजिक रुपमा घुलमिल गराउने जस्ता विषय प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाई छ । कार्यक्रममा सहभागीहरुले भने अपांगता भएका व्यक्तिहरुलाई नीति निर्माणमा सहभागी नगराइएको, अपांगमैत्री संरचना निर्माणमा ध्यान नदिइएको, अपमानित शब्द प्रयोग गर्ने गरीएको गुनासो गरेका छन् । पनौती नगरपालिकाले अपांगमैत्री संरचना निर्माण नगर्दा सेवा प्राप्त गर्न कठिनाई भएको उनीहरुको भनाई छ । वडा अध्यक्ष दिपक दाहालले अपांगता भएका व्यक्तिहरुका आवश्यकतालाई ध्यानमा राखेर योजना तर्जुमा गर्ने प्रतिवद्धता जनाउनु भएको छ । विभिन्न कारणले भएको शारिरिक कमजोरीलाई लिएर भावनात्मक रुपमा चोट पुर्याउने शब्द प्रयोग नगर्न उहाँको आग्रह छ । अपांगता भएका मानिसहरुमा विशेष क्षमता हुने भएकाले क्षमता चिन्न सक्नुपर्ने उहाँको भनाई थियो । अपांगतालाई कमजोरीको रुपमा लिने हेय भाव हटाउनुपर्नेमा अध्यक्ष दाहालले जोड दिनुभएको छ ।
वडा अध्यक्ष दाहालले मानविय विकासलाई सबैभन्दा ठुलो विकासका रुपमा समेत अथ्र्याउनुभएको छ । दैनिक बालबच्चाको हेरचाहमा लागिरहने अभिभावकले अपांगता भएका व्यक्तिको मनोभावना वुझ्न जरुरी रहेकाले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बालमैत्री सहजकर्ता ललिता धितालले बताउनुभयो । अन्तरक्रियाले अपांगताको क्षेत्रमा थप कार्यक्रम तय गर्न मार्गनिर्देश गरेको उहाँको भनाई छ ।
बालमैत्री स्थानीय शासन दिगोपनाका लागि अनुगमन
पनौती नगरपालिका वडा नम्बर ४ को आयोजनामा बालमैत्री स्थानीय शासन दिगोपनाका लागि होटल, पसलमा बालश्रमको अवस्था तथा मदिरा धुम्रपान सम्बन्धी अनुगमन गरिएको छ । ज्यालाचिटी टोल, नयाँ बस्ती, दुधमिल लगायतका क्षेत्रमा रहेका होटल पसलको अनुगमन गरिएको हो । अनुगमन कार्यक्रममा संविधानसभा सदस्य रामहरी सुवेदी, वडा अध्यक्ष दिपक दाहाल, नगर कार्यपालिका सदस्य राधिका विश्वकर्मा, वडा सदस्यहरु कुमार बस्नेत, सबिता थापा, प्रकाश बञ्जारा, पुर्व वडा सदस्य नकुल श्रेष्ठ, प्रहरी चौकी पनौतीबाट क्षेत्रबहादुर भण्डारी, केशर बहादुर थापा, सविन मानन्धर लगायतको उपस्थिती रहेको थियो । संविधानसभा सदस्य रामहरी सुवेदीले मुलुकको भविष्य सुन्दर, सभ्य बनाउनको लागि बालबालिकाको हक अधिकार संविधानमा नै स्पष्ट गरिएको बताउनुभयो । उनीहरुलाई समाजमा स्थापित गर्न शिक्षा, स्वास्थ्यमा जोड दिनुपर्ने उहाँको भनाई थियो । बालबालिकाको हक अधिकार रक्षाको लागि वडा कार्यालयले खेलेको भुमिका प्रसंसनीय रहेको उहाँले बताउनुभएको छ ।
यस्तै वडा अध्यक्ष दिपक दाहालले बालबालिकाको क्षेत्रमा विशेष लगानी गरिरहेको बताउनुभएको छ । आजका बालबालिकामा गरिएको लगानीले नै देशको भविष्य निर्धारण गर्ने भन्दै वडा अध्यक्ष दाहालले बालबालिकाको आवश्यकता र चाहना अनुसार काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । अनुगमनका क्रममा १८ वर्ष मुनिका बालबालिकालाई श्रममा नलगाउन सचेत गराइएको थियो । दुधमिल क्षेत्रमा रहेका केहि ग्यारेजमा बालश्रम भइरहेको भेटिएकाले सचेत गराइएको बालमैत्री सहजकर्ता ललिता धितालले जानकारी दिनुभयो । यस्तै बालबालिकालाई धुम्रपान, मदिरा विक्रिवितरण नगर्न भनिएको छ । अवैधरुपमा जथाभावी घरेलु मदिरा विक्रिवितरण बन्द गर्न पनि निर्देशन दिइएको छ । अनुगमनका क्रममा दर्ता नगरी व्यापार व्यवसाय सञ्चालन गरिरहेको भेटिएकाले आफ्नो व्यवसाय दर्ता गर्न पनि वडा कार्यालयले आग्रह गरेको छ ।









