धुलिखेल/बामगती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले मनसुनजन्य विपदको पुर्व तयारीका लागि सरोकारवाला निकायहरुलाई निर्देशन दिनु भएको छ ।
यो वर्ष ३० वर्ष पछिको ठुलो आगलागी हुँदा भएको क्षतिको पुर्वानुमान समेत गर्न नसकिएको बताउँदै मन्त्री श्रेष्ठले मनसुनबाट हुने क्षति न्यूनिकरणका लागि विपदका चारवटा चरण मध्ये पुर्व तयारीलाई विशेष जोड दिन निर्देशन दिनु भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले काभ्रेपलाञ्चोक जिल्लाको विपद ब्यवस्थापन प्रगति समिक्षा कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले प्रदेश भरका जिल्लाको विपद ब्यवस्थापनका लागि आगागमी आर्थिक वर्षबाट लागु हुने गरी विपद ब्यवस्थापन प्राधिकरण गठन गर्ने तयारी गरिएको बताउनु भयो । ‘प्रदेश भरी हुने विपदको ब्यवस्थापनका लागि प्रदेश सरकारसँग जनशक्ति र संरचना नै छैन’–मन्त्री श्रेष्ठले भन्नुभयो–‘१३ जिल्लाको विपद ब्यवस्थापन गर्न मन्त्रालयमा एक जना अधिकृत स्तरको कर्मचारी रहेको शाखा मात्रै छ । यो वर्ष प्राधिकरण सहित महाशाखा गठन गर्ने योजनामा छौं ।’
प्राधिकरण र महाशाखा गठन नहुँदासम्म प्रदेश सरकारले विपदको पुर्व तयारी तथा विपद ब्यवस्थापनका लागि मकवानपुर, नुवाकोट लगायतका जिल्लामा गोदाम घर निर्माण गरेको मन्त्री श्रेष्ठले बताउनु भयो । काभ्रेमा निर्माणाधिन गोदाम घरको भवन अपायक र गोदामका लागि अनुपयुक्त भए पनि विकल्प नभएको उहाँले बताउनु भयो । ‘विद्यमान श्रोत, साधन र जनशक्तिलाई पर्याप्त र परिणामुखी बनाउँदै विपद ब्यवस्थापन गर्नु आवश्यक छ’–मन्त्री श्रेष्ठले भन्नुभयो–‘विपद ब्यवस्थापन तिन तहकै सरकारको साझा दायित्व भए पनि तै रानी मै रानी पँधेराको पानी को खानी ? भने जस्तो समन्वयको अभाव छ ।’ प्रदेश मन्त्रालय सचिव धु्रर्व गैडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाको विपद ब्यवस्थापन र मनसुन पुर्व तयारीका बारेमा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले नेपाली सेना कालीजंग गण धुलिखेलले तयार गरेको संयुक्त अभ्यास र पछिल्लो अवस्थाका बारेमा प्रस्तुतीकरण गराउनु भएको थियो ।
कालीजंग गण धुलिखेलका गणपति कर्णेल प्रकाशबहादुर सिंहले जिल्लाको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै बाढी, पहिरो, आगलागी, सवारी दुर्घटना, चट्याङ्ग जस्ता विपदबाट नागरिकहरुलाई बचाउन भएका प्रयास र आगामी योजनाका बारेमा जानकारी गराउनु भएको थियो । भौगोलिक अवस्था, श्रोत, साधन र जनशक्तिको ब्यवस्थापन तथा संयुक्त अभ्यासका बारेमा जानकारी गराउनु भएको थियो । काभ्रेपलाञ्चोक जिल्लामा विपद ब्यवस्थापनका सामाग्रीहरुको अवस्था जानकारी गराउँदै कर्णेल सिंहले स्थानीय तहहरुले पनि श्रोत र साधनको ब्यवस्थापन गर्ने गरी तयारीका लागि योजना निर्माण गरिएको बताउनु भयो । जिल्लामा म्याट ४४, अक्वा बक्स १५, बाल्टिन ५, डोरी २, ह्याण्डल टुल ८, लाईफ ज्याकेट ६७, पिक ११, साबेल १०, स्टेचर १, भ¥याङ्ग स्टिल डोरी सहित २, फायर २, ट्युव १५ वटा रहेका छन् । रेस्क्युका लागि रेस्क्यु भेस्ट २, लाईफ ज्याकेट २, हेलमेट ४, ग्लोबस २, रबर गम बुट २, रेस्क्यु ह्याम्बर १ वटा रहेका छन् । नागरिकहरुलाई विपदबाट सुरक्षित राख्न आवश्यक श्रोत, साधन र जनशक्तिको ब्यवस्थापन गरेर खोज तथा उद्धार र पुर्नस्थापनाका लागि तयारी गरिएको कर्णेल सिंहले बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले जिल्लाका १३ वटै पालिकामा हुन सक्ने मनसुनजन्य तथा अन्य विपद न्यूनिकरणका लागि तीन तहकै सरकारको समन्वयमा कार्य गरिनु पर्ने बताउनु भयो । बनेपा, धुलिखेल, पनौती, मण्डनदेउपुर, नमोबुद्ध लगायतका पालिकाहरुबाट भएका अभ्यास र तयारीका बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा नगर प्रमुखहरु, उपप्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुखहरु, मन्त्रालयका निर्देशक दिपककुमार न्यौपाने, रमिता कार्की लगायतले प्रदेश मन्त्रालय मार्फत जिल्ला जिल्लामा हुने विपद ब्यवस्थापनका लागि भएको तयारी र योजनाका बारेमा जानकारी दिनु भएको थियो ।









