2026 April 26/ 11:37: 42am

    धुलिखेल/जिल्ला विपद् ब्यवस्थापन समिति काभ्रेको बैठकले बैशाख २३ गते शनिबार दोलालघाटमा विपद् प्रतिकार्य संयुक्त अभ्यास गर्ने भएको छ । संयुक्त अभ्यासलाई मनसुन ३ अभ्यास  नामाकरण गरिएको छ । 
    विपद ब्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले मनसुन तथा अन्य विपदका घटनामा खोज तथा उद्धार तथा विपद प्रतिकार्यका लागि अपनाउनु पर्ने पुर्व तयारीमा सरोकारवाला निकायहरु सक्रिय हुने निर्णय गरेको छ । ‘मनसुन लगायतका विपदहरुबाट हुन सक्ने जनधनको क्षति न्यूनिकरण गर्न सरोकारवाला निकाय सक्रिय हुन अवाश्इक छ’–प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भन्नुभयो–‘१३ वटै स्थानीय तह, रेडक्रस, उद्योग बाणिज्य संघ, राजनीतिक दल तथा संचारकर्मीहरु, संघ संस्था र युवाहरुको समेत विपद न्यूनिकरणमा सक्रियता हुने गरी योजना निर्माण गरी आवश्यक तयारी गरेका छौं ।’ जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले मनसुनले पार्न सक्ने प्रभावलाई कम गर्न खोज तथा उद्धारको टोलीसँगै आवश्यक जनशक्ति र सामाग्री तयारी अवस्थामा राख्न स्थानीय तहहरुलाई अनुरोध गर्नु भयो । नेपाली सेना सहितको सुरक्षा निकायको टोलीले संयुक्त अभ्यास गरेर जनशक्तिलाई ब्यवस्थित गरिरहँदा स्थानीय तहहरुले सामाग्रीको ब्यवस्थापन गरी विपद न्यूनिकरण गर्न सहजिकरण गर्नु पर्ने समन्वय समिति प्रमुख गौतमले बताउनु भयो । 
    नेपाली सेना कालीजंग गणका गणपति कर्णेल प्रकाशबहादुर सिंहले बैशाख २३ गते दोलालघाटमा आयोजना गरिने विपद प्रतिकार्य संयुक्त अभ्यासका बारेमा जानकारी गराउनु भएको थियो । ‘दोलालघाटमा हुने मनसुन ३ संयुक्त अभ्यासले जिल्ला स्तरमा उपलब्ध क्षमता (पुर्व तयारी र प्रतिकार्य) को लेखाजोखा, मानविय सहायतामा संलग्न निकायहरुको पहिचान, प्रतिकार्यको साझा मापदण्ड तयार र खोज तथा उद्धार टोलीको क्षमता अभिबृद्धी गर्नेछ’–गणपति कर्णेल प्रकाशबहादुर सिहले भन्नुभयो–‘संयुक्त अभ्यासमा बगेको र डुबेको, पहिरोमा फसेको ब्यक्तिको उद्धार गरिनेछ । नेपाली सेनाका पृतनापति, बाहिनीपति, १३ वटै पालिकाबाट प्रमुख, उपप्रमुख सहित केहि वडाअध्यक्षहरु, एनसिसि तालिम प्राप्त विद्यार्थीहरु, स्थानीय युवा, भुतपुर्व सैनिक तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।’ जिल्लामा आर्थिक वर्ष २०७८÷२०७९ मा २८ जनाको विपदबाट उद्दार गरिएको तथ्याङ्क छ भने २०७९÷२०८० मा ३३ जनाको उद्दार भएको छ । चालु वर्षमा मनसुन सक्रिय हुन अझै बाँकी रहेकाले थप उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन विपद प्रतिकार्य संयुक्त अभ्यास आयोजना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जानकारी दिनुभयो । 
    बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १३ वटै स्थानीय तहको प्रतिनिधित्व हुने गरी विपद ब्यवस्थापनका लागि सूचना तथा अन्य सहकार्यका लागि समिति गठन गरिएको छ । चालु वर्षको ९ महिनामा पहिरोमा परेका ३, आगलागीमा परेका २५, चट्याङ्गमा परेका ४, हावाहुरीमा परेका १ र करेन्टका कारण विपदमा परेका एक जनाको उद्धार गरिएको छ । विपदका कारण ३ सय ७७ जना घाईते भएका छन् भने ५९ जनाको मृत्यु भएको छ । ४ सय २४ वटा घटना भएको तथ्ग्याङ्कमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा विपदमा परी ३ सय ५० जना घाईते भएका थिए भने ५६ जनाको मृत्यु भएको थियो । ४ सय ४३ वटा घटना भएका थिए । विपद् ब्यवस्थापन समितिको वनावट अनुसार जिल्ला आपतकालिन कार्य संचालन केन्द्र अन्र्तगत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाईटी, विषयगत सरकारी कार्यालयहरु, स्थानीय तह, संचारमाध्यमहरु रहने गरी ब्यवस्थापन गरिएको छ । विपद् जाृखिम न्यूनिकरण तथा ब्यवस्थापन ऐन २०७४ बमोजिम कार्य गर्ने, जिल्लाको विपद प्रतिकार्य योजना तयार गरी लागु गर्ने गराउने, उपलब्ध श्रोतको उच्चतम प्रयोग तथा प्रवाह गरी विपद प्रभावित क्षेत्रमा खोजी तथा उद्धार गर्ने, नेपाल सरकारबाट स्वीकृत मापदण्ड अनुसार राहत वितरण गर्ने, गराउने तथा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयलार्य सोहि अनुसार वितरण गर्ने स्थानीय तहको जिम्मेवारी भित्र पर्ने अन्य दायित्वहरु पुरा गर्ने १३ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुले प्रतिवद्धता ब्यक्त गरेका छन् । 
    बैठकले जिम्मेवारी क्षेत्रको भौगोलिक वनावट र प्रत्येक वर्ष मनसुनको समयमा उत्पन्न हुने वाढी, पहिरो तथा डुवानको दौरान प्रभावित सर्वसाधारण जनतालाई विपदका घटनाहरुबाट हुन सक्ने क्षतिलाई न्यूनिकरण गर्न विपद ब्यवस्थापनका क्षेत्रमा कार्य गर्ने सबै तहका निकायहरुले समन्वयात्मक रुपमा विपद्को तयारी तथा प्रतिकार्य योजना बनाई असरदार रुपमा परिचालन हुने कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ । जिल्ला विपद ब्यवस्थापन समितिको बैठकले सरोकारवाला निकायहरुको जिम्मेवारी अनुसारको समन्वय बैठक संचालन गर्ने, जिल्ला, स्थानीय तहको सम्पर्क ब्यक्ति र जिम्मेवारी अद्यावधिक गर्ने, तालिम संचालन गर्ने, विवरण संकलन गर्ने लगायतका योजना निर्माण गरी कार्यान्वयन शुरु गरेको छ ।