2026 April 26/ 11:38: 21am

    बेथान्चोक/एईआइएन लक्जम्वर्गको सहयोगमा बेथान्चोक गाउँपालिकाको ग्रामिण महिला तरकारी तथा फलफुल सहकारी संस्थालाई तरकारी तथा फलफुल ढुवानीका लागि ढुवानी साधन प्राप्त भएको छ । ताजा तरकारी तथा फलफुल ढुवानीका लागि ‘तरकारी तथा फलफुल’ एम्बुलेन्सका रुपमा उक्त सवारी साधन संचालनमा ल्याउने तयारी गरिएको छ । महिला सशक्तिकरण तथा आत्मनिर्भरका लागि ब्यवसायीक खेति गर्ने उद्देश्यले बेथान्चोक गाउँपालिकामा सहकारी मार्फत विभिन्न कार्यक्रम शुरु भएका छन् । 
    ३० लाख ८० हजार रुपैयाँ खर्च भएको उक्त सवारी साधनका लागि २५ लाख ८० हजार ग्रामिण विकास संस्था मार्फत उक्त रकम सहकारीले प्राप्त गरेको हो । राजधानीबाट ५० किमि टाढा रहेको बेथान्चोक गाउँपालिकामा उत्पादित तरकारी समयमै बजार पु¥याउन उक्त सवारी साधन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । ‘सहकारीमा आबद्ध महिला सदस्यहरुद्वारा उत्पादित तरकारी तथा फलफुल ढुवानीका लागि अत्यावश्यक रहेको सवारी साधन उपलब्ध भएसँग ताजा तरकारी समयमै बजारमा पठाउन सहज हुने अपेक्षा गरेका छौं’–अध्यक्ष विमला अधिकारीले भन्नुभयो–‘नीजि क्षेत्रका ढुवानी साधन तरकारी तथा फलफुल बजार पु¥याउन समयमै उपलब्ध हुन नसक्दा सहकारीमा आवद्ध सदस्य कृषकहरुले ब्यहोर्नु परेको हैरानी अन्त्य भएको छ ।’ ढुवानी सवारीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने गरी ब्यवस्थापनको तयारी गरिएको अध्यक्ष अधिकारीले बताउनु भयो । एईआन लग्जम्वर्गका फ्रान्को, फोएर ग्रुपकी अमिरा लगाएतको टोलीले नेपाल प्रतिनिधि रमेश त्वयना, ग्रामिण विकास संस्थाका अध्यक्ष गिता शर्मा, कार्यकारी निर्देशक डिएन तिमल्सिना, संस्थापक मुरली शर्मा,  लगायतको टिम मार्फत सहकारीलाई ढुवानी सवारी हस्तान्तरण गरेको थियो ।
    २०७८ बैशाख १ गते स्थापना भएको     उक्त सहकारीमा १ हजार ७ सदस्य छन् । २८ लाख ८६ हजार ३ सय शेयर पुँजी, २६ लाख २ हजार २ सय २४ कुल बचत, ३४ लाख ४० हजार पँुजीगत अनुदान गरी ९६ लाख १२ हजार १ सय ८८ कुल कारोवार गरेको संस्थाले ६० लाख ३२ हजार ३ सय ३० ऋण १० प्रतिशत ब्याजमा लगानी गरेको छ । बचतकर्ताहरुलाई ६ प्रतिशत ब्याज उपलब्ध गराएको संस्थाले सदस्यहरुका ग्रामिण विकास संस्था मार्फत ४१ घर धुरीमा १ हजार बोट किवी, ६९ घर धुरीमा १६ सय बोट कागती, ३१ घर धुरीमा ३१ बोट ओखरका विरुवा वितरण गरेको छ । अर्गानिक तरकारी उत्पादनका लागि आईपिएम कृषक पाठशाला संचालन गरी जैविक विषादी उत्पादनका लागि आवश्यक पर्ने तालिम प्रदान गरेको छ । पशुपालनका लागि ५ हजार घाँसका विरुवा वितरण गरेको छ । हातिपाईले, गोवन, निमारो, हाडेओखर, जिरा लगायतका घाँसका विरुवाहरु उपलब्ध गराईएको छ । 
    सदस्यहरुलाई ३५ वटा प्लास्टिक टनेल, ४२ वटा गोठ सुधार, ६० घरधुरीमा करेसाबारी निर्माण, ४ घरमा गोबरग्याँस, स्थायी पानी पोखरी मार्फत ६० रोपनी जमिन सिंचाईको कार्यक्रम सम्पन्न भएको छ । जसबाट २० घर परिवार लाभान्वित भएका छन् । जलवायु अनुकुलन कार्यक्रम बेथान्चोकका विभिन्न वडामा संचालन भएका छन् । चार वर्षमा गाउँपालिकाका ४ सय ९७ घर धुरी प्रत्यक्ष प्रभावित हुने गरी कार्यक्रम संचालन गरिएको ग्रामिण विकास संस्थाका कार्यकारी निर्देशक डिएन तिमल्सिनाले बताउनु भयो । संस्थाकी रचना श्रेष्ठले महिलाहरुको आर्थिक शशक्तिकरणमा ढुवानी सवारी महत्वपूर्ण हुने बताउनु भयो । उत्पादित तरकारी तथा फलफुल सिधै बजारमा पु¥याउँदा विचौलियाबाट ठगिने डर पनि नहुनुका साथै नगदमै कारोवार गर्न सहज भएको बताउनु भयो । विचौलियाले सामान खरिद गर्दा उद्यारो लैजाने, कतिपय अवस्थामा सामानको उचित मुल्य पनि नदिने र सामान लगे पछि पैसा पनि नदिने अवस्थाको अन्त्य हुने श्रेष्ठले बताउनु भयो । संस्थाकी संचालक पार्वति सापकोटाले उत्पादित सामाग्रीलाई बजारीकरण गर्न, तरकारीको बेर्ना उत्पादनका लागि नर्सरी निर्माण गर्न, सामुदायिक विउ बैकको स्थापना गर्न, ज्ञान र सिपको तालिम प्रदान गर्न, महिला किसानहरुका लागि ब्यवसायीक खेति विस्तार गर्न, विपन्न महिलाहरुलाई आत्मनिर्भर बनाउन, नेतृत्व तथा ब्यक्तित्वको विकास गर्न, तरकारी तथा फलफुलका लागि शितभण्डार स्थापना गरी नमुना गाउँ बनाउन आवश्यक सहयोगको अपेक्षा गरिएको बताउनु भयो । 
    सहकारीमा आवद्ध महिलाहरुले उक्त क्षेत्रमा एक सिजनमा आलु ३० लाख केजी, बन्दा ३ लाख ७५ हजार केजी, मुला ३ लाख ५४ हजार केजी, धँनिया ५० हजार केजी, काउली ५० हजार केजी उत्पादन गरी बजार पु¥याएको संस्थाकी कोषाध्यक्ष राधिका तिमल्सिनाले बताउनु भयो । सहकारीबाट ५ सय २५ जनाले आलु, बन्दा, मुला लगायतका तरकारी उत्पादनका लागि ऋण लिएका छन् । ३९ जना कृषकहरुले कृषि ज्ञान केन्द्रबाट विभिन्न प्रविधिका सामाग्रीहरु समेत प्राप्त गर्नु भएको छ ।