खानीखोला/खानीखोला गाउँपालिकाको आर्थिक सहयोगमा डाँडापारी मिडिया ग्रुप प्रालिको आयोजनामा खानीखोला गाउँपालिकामा दुई दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । बैशाख ६ र ७ गते आयोजना गरिएको तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ्गले गर्नु भएको थियो ।
तालिमको उद्घाटन गर्दै अध्यक्ष थिङ्गले खानीखोला हरेक हिसाबले पछि परेको विषयमा पत्रकारिताको माध्यमबाट राज्यका हरेक निकायलाई यहाँका समस्या, नागरिकका गुनासा र राज्यले देख्न नसकेका असंख्य विषयमा कलम चलाउन, बोल्न र सूचना सम्प्रेषण गर्न सक्ने ज्ञाानको आधार तयार गर्न तालिम महत्वपूर्ण हुने बताउनु भयो । पछिल्लो समय पत्रकारितालाई हेर्ने दृष्टिकोणमा समेत नागरिकहरुले फरक फरक धारणा बनाउन थालेकाले सत्य, तथ्य र निश्पक्ष समाचारका लागि आधारभूत पत्रकारिताको माध्यम बलियो बनाउँदै थप ज्ञान र पत्रकारिताका संहिताहरुको पूर्ण पालना गर्नुपर्ने बताउनु भयो । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिना मुख्य प्रशिक्षक रहनु भएको कार्यक्रममा विकास, स्थानीय सरकार र नागरिकहरुको अपेक्षामा पत्रकारहरुको भूमिका र त्यसका आधारभुत विषयहरुमा प्रशिक्षण दिनु भएको थियो । नागरिकले प्राप्त गर्ने सूचनाको हक, त्यसको कार्यान्वयनमा स्थानीय सरकारको भूमिका, पत्रकारिताका आधारभुत विषयका सन्र्दभमा तालिममा प्रशिक्षित गरिएको थियो । पत्रकार दिपक आचार्य, बुद्ध लोप्चन सहितले पत्रकारिताका विभिन्न विद्यामा प्रशिक्षण दिनु भएको थियो ।
तालिमको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका विष्णु तिमल्सिना, नेकपा एमालेका डम्बर तिमल्सिना, नेकपा माओवादीका राजन अधिकारी, आयोजक संस्थाका अध्यक्ष बुद्ध लोप्चन, इकमान लामा, अनिष तामाङ लगायतले पत्रकारिता मार्फत समुदायको हितका लागि सकारात्मक सन्देश प्रवाहमा जोड दिनु भएको थियो ।









