2026 April 26/ 09:53: 33am

    बनेपा/नेपाल ह्दयरोग निवारण प्रतिष्ठान काभ्रेको २८ औ बार्षिक साधारण सभा संस्थाका केन्द्रिय सभापति बलराम न्यौपानेको प्रमुख आतिथ्यता तथा जिल्ला सभापति अशोककुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । 
    मुटु स्वस्थ राख्न तथा मुटुलाई बचाई राख्न प्रतिष्ठानले निरन्तर जिल्लामा सचेतनामुलक, तथा उपचारात्मक कार्यक्रम संचालन गरिरहेको छ । समुदायलाई मुटुमा हुने संक्रमण तथा रोगहरुका बारेमा जानकारी गराउँदै स्वस्थ मुटुका लागि ब्यक्ति, समुदाय तथा समाजको वातावरणलाई सधै स्वस्च्छ बनाई राख्न खेल्नु पर्ने भूमिकाका बारेमा प्रतिष्ठानले जनचेतनामुलक कार्यक्रम गरिरहेको छ । बार्षिक साधारण सभाको अवसर पारी शिक्षा क्षेत्रमा लामो समय योगदान पु¥याउनु भएका फडिन्द्र अधिकारी, स्वास्थ्य क्षेत्रका डा. अनिश जोशी र महिला स्वास्थ्यकर्मी रुपा कर्माचार्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष न्यौपानेले नागरिकहरुको स्वास्थ्यलाई प्रभाव पार्ने गरी प्रतिष्ठानले संचालन गरेका कार्यक्रमहरु प्रभावकारी भएको बताउनु भयो । प्रतिष्ठानले लायन्स क्लवसँगको सहकार्यमा बनेपामा मुटु परिक्षणको क्लिनिकका साथै उपचारात्मक सेवालाई सहजिकरण गरिहेको छ । अध्यक्ष अशोक कुमार श्रेष्ठले प्रतिष्ठानले काभ्रेको नाला, पाँचखाल, कुशादेवी, कोलाँती भुमेडाँडा, बेथान्चोक, सुब्बागाउँ र सिपाघाटमा इकाई खोलेर यशस्कर सदस्य पूर्णप्रसाद पलाञ्चोके, रामप्यारी बज्राचार्य र अशोककुमार श्रेष्ठ, श्रेयस्कर सदस्य नरेन्द्रलाल श्रेष्ठ, अति विशिष्ठ सदस्य ज्वालादेवी सेवाचाचर्य, बसुन्धरा हुमागाई र सरिता शाक्यलाई प्रदान गरेको छ । त्यस्तै ४९ जनालाई  विशिष्ठ सदस्य तथा ३ सय ७८ जनालाई आजिवन सदस्य प्रदान गरी मुटु बचाउने अभियानलाई तिब्रता दिएको छ । 
    साधारण सभामा वर्षभरी प्रतिष्ठानले गरेका गतिविधिहरुका बारेमा समिक्षा गर्दै आगामी दिनमा हुने कार्यक्रमलाई प्रभावकारी बनाउन तीन तहकै सरकार तथा सरोकारवाला निकायको प्राथमिकता हुनु पर्ने निश्कर्ष निकालिएको छ । संस्थाले २२ लाख २० हजारको वासलात पेश गरेको सभामा कोषाध्यक्ष रामप्यारी श्रेष्ठले कोष बढाउन वा प्रचारात्मक कार्यका लागि स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताउनु भयो । सचिव सिद्धिबहादुर जोशीले १३ वटै पालिकामा अभियानका बारेमा जानकारी गराउँदै मुटु स्वस्थ राख्ने अभियान शुरु गरिएको बताउनु भयो । कार्यक्रममा संस्थाका उपसभापति टिकाभक्त भोक्षिभोया, सह सचिव सत्यनारायण श्रेष्ठले प्रतिष्ठानका विषयमा जानकारी गराउनु भएको थियो । सभामा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, शिक्षासेवी डा.उत्तमकृष्ण कर्माचार्य, साहित्यकार मोहन दुवाल, बनेपा नगरपालिका स्वास्थ्य शाखा प्रमुख शम्भुकुमार महत्तो लगायतका बक्ताहरुले स्वस्थ नगर निर्माणका लागि नागरिकहरु स्वस्थ राख्न वातावरण स्वस्च्छ बनाउनु पर्ने बताउनु भयो । सोहि अवसरमा धड्कान नामक पुस्तक विमोचन गरिएको थियो ।