2026 April 26/ 11:37: 43am

    नाला, बनेपा/बनेपा नगरपालिकाका पहिलो आधारभुत नगर अस्पताल बनेपा नगरपालिकाको वडा नम्वर ४ स्थित साविक नाला हेल्थपोस्ट भएको स्थानमा शुभारम्भ भएको छ । पूर्व मन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्वर २ का सांसद् गोकुल बास्कोटाले सेवा र भवनको शुभारम्भ गर्नु भएको छ । 
    ‘प्रसुती, आकस्मिक र सामान्य उपचार सहित अन्य सेवा निरन्तर उपलब्ध गराउने गरी अस्पतालको सेवा प्रारम्भ गरिएको छ’– अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्वर ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठले भन्नुभयो–‘दुई जना विशेषज्ञ डाक्टर सहित १५ जना स्वास्थ्यकर्मीहरु नियमित सेवामा संलग्न हुनेछन् ।’ नगरपालिकाले थप भौतिक पूर्वाधारका लागि ५ तल्ले भवनको साढे १८ करोडको डिपिआर तयार गरिएको जानकारी दिएको छ । 
    कार्यक्रममा बोल्दै पुर्व मन्त्री बास्कोटाले सुखी काभ्रेली र समृद्ध काभ्रेलीको अभियानमा क्षमतावान नागरिकहरु तयार गर्न शिक्षा, स्वास्थ्य, रोजगार सहितको विकासका लागि कार्य गरिरहेको बताउनु भयो । ‘कोभिड १९ को महामारी पछि सबै स्थानीय तहमा आधारभुत अस्पतालको आवश्यकता महसुस गरी देशभर एकै पटक ३ सय ९३ वटा अस्पतालको शिल्यान्यास गरिएको थियो’–पुर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘कतै सेवा नै शुरु भईसकेको छ । कतै निर्माणाधीन अवस्थामा छन् । कतै शिल्यान्यासको लागि तयारी अवस्थामा छन् । सबै संस्थाको उद्देश्य नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हो ।’ 
    बनेपा नगरपालिका भित्र अघिल्लो कार्यकालमा करिडोर, चण्डेश्वरी मन्दिरमा सिंढी निर्माण, पुरानो बजार भित्रको पुनर्निर्माण, पोखरी, मन्दिर तथा अन्य संरचनाको निर्माण, सडक, विद्यालय, स्वास्थ्य भवनहरुको पुर्ननिर्माण गरिएको पूर्व मन्त्री बास्कोटाले बताउनु भयो । कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्यले नगरपालिकाले तीन तहकै सरकारसँग समन्वय गरेर विकास गर्ने योजना बनाएको बताउनु भयो । नगर प्रमुख शाक्यले नगर स्तरीय अस्पतालका लागि आवश्यक पुर्वाधार तथा जनशक्तिको अभाव हुन नदिने बताउनु भयो । उपप्रमुख विमला सापकोटाले नगरबासिहरुको हितमा विकास निर्माण र स्वास्थ्य सेवाका कार्यक्रमलाई प्रभावकारी रुपले अघि बढाएको बताउनु भयो । 
    कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु नेपाली काँग्रेसका योगराज दाहाल, नेकपा एमालेका रत्नकुश रञ्जित, राप्रपाका सिताराम दाहाल, नेपाल पत्रकार महासंघका निवर्ततमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले अस्पतालले दिने सेवा प्रभावकारी हुनु पर्ने बताउनु भयो । कार्यक्रममा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख पुरुषोतम सेढाईले अस्पताललाई आवश्यक पर्ने सामाग्री उपलब्ध गराउनु भएको थियो । कार्यक्रममा बनेपा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शम्भुकुमार महत्तोले नगर स्तरीय अस्पतालबाट नागरिकहरुले प्राप्त गर्ने सेवालाई गुणस्तरीय बनाईने बताउनु भयो । पछिल्ला दुई वर्ष नगर क्षेत्रको स्वास्थ्य सेवा थप प्रभावकारी भएको बताउँदै महत्तोले हरेक स्वास्थ्य संस्थालाई औषधी, जनशक्ति र अन्य पूर्वाधारबाट सम्पन्न बनाईएको बताउनु भयो । कोभिड १९ को महामारी नियन्त्रण तथा अन्य महामारीजन्य प्रकोपलाई नियन्त्रण गर्न दक्ष जनशक्ति र तयारी रहेको बताउनु भयो । कार्यक्रम वडा सचिव सरिता श्रेष्ठले संचालन गर्नु भएको थियो ।