धुलिखेल/खड्गी सेवा समिति धुलिखेलले बैशाख ४ गते सोमबार धुलिखेलमा विस्का जात्रा मनाएको छ । नगर प्रमुख अशोक ब्याञ्जु लगायतका जनप्रतिनिधिहरु, कर्मचारीहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
ऐतिहासिक, पुरातात्विक तथा पर्यटकिय शहर धुलिखेलमा परापुर्वकालदेखी मनाईदै आएको विस्का जात्रा यो वर्ष पनि भब्य रुपमा सम्पन्न भएको संयोजक रविन खड्गीले बताउनु भयो । २०७९ चैत्र २७ देखि २०८० बैशाख ४ गतेसम्म विभिन्न कार्यक्रमका साथ मनाईएको जात्रामा धुलिखेलमा स्थायी घर भई अन्यत्र बसोबास गरिरहेका ब्यक्तिहरुको सहभागिता रहेको थियो । बैशाख ४ गतेका दिन पेनुमाच ख्वास्वेकेगुका दिन सिन्दुर जात्रा सहित रथ यात्रा गरिएको थियो । धुलिखेलको वडा नम्वर ६ चोच्छे टोल स्थित गणेशस्थान मन्दिरमा उक्त जात्रा आयोजना गरिएको संयोजक खड्गीले बताउनु भयो । परम्परा नासिन नदिन युवाहरुको सक्रियतासँगै आगामी वर्ष पनि जात्रालाई भब्य रुपमा मनाईने उनले बताए ।









