2026 April 26/ 09:53: 38am

आजबाट लागु हुँदै
    बनेपा/जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गृह मन्त्रालयको परिपत्रको हवाला दिदै मालवाहक सवारी साधनहरुलाई आगामी बैशाख ७ गते विहान १० बजे देखि जिल्लाका तीन स्थानमा नीजि क्षेत्रले स्थापना गरेको तौल पुलमा अनिवार्य रुपमा भारवहन गरी लोड सिट लिन निर्देशन दिएको छ । 
    सडक जोगाउन जिल्लामा भएका तौल पुलमा मालवाहक सवारी साधनको तौल लिएर मात्रै संचालन गर्न उक्त निर्णय गरिएको प्रशासन कार्यालयले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा बसेको बैठकले गृह मन्त्रालय, स्थानीय प्रशासन तथा समन्वय शाखाको च.न.५९६, २०७९ फागुन २१ गतेको पत्रबाट मालवाहक सवारी साधनको भारवहन नियमन सम्वन्धी निर्देशिका, २०७४ मा भएको ब्यवस्था कडाईका साथ कार्यान्वयन गर्न गराउन लेखी आएको सम्वन्धमा जिल्लामा रहेका तीनवटा तौल पुल (पनौती, पाँचखाल र नमोबुद्ध) मा मालवाहक सवारी साधनहरु २०८० बैशाख ७ गते विहिबार विहान १० बजेबाट अनिवार्य रुपमा तौल पुलमा भारवहन गरी लोड सिट लिएको हुनु पर्ने निर्णय गरेको छ । साथै तौल पुलमा मालवाहक सवारी साधन भारवहन गराउँदा ट्राफिक जाम नहुने ब्यवस्था तौलपुल संचालकले मिलाउने र निर्देशिका उल्लेख भए अनुसार भारवहन नियमन ट्राफिक प्रहरीले गर्ने उल्लेख गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो । 
    बैठकमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, पार्टी प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, ब्यवसायीहरुको सहभागिता रहेको थियो । सोहि बैठकमा अरनिको राजमार्ग जिर्ण रहेर मान्छे सहज हिड्न समेत असहज भएको, रातिको समयमा मात्रै टिपर चल्ने हुँदा निश्चित अवधीमा मजदुरले निर्धारित स्थानमा सामान पु¥याउन नसक्ने भएकाले अब्यवहारीक भएको, सडक छेउमै भएकाले सडक जाम हुन गई अवरुद्ध समेत हुन सक्ने तर्फ ध्यान दिन अनुरोध गरिएको थियो । सडक जिर्ण हुनुको प्रमुख कारण भनेकै सवारी साधनले अत्याधिक भार बोक्ने, सडकमा पानी चुहाउँदै ल्याउने र नियमित अनुगमन हुन नसकेका कारण रहेको निश्कर्ष निकालिएको थियो । सोहि कारण सडकहरुमा रहेका तौल पुलमा सवारी साधन तौलन थाले पछि भारवहन भन्दा धेरै बोक्दा कारवाही हुने डरले पनि कानून विपरित नगर्ने आशयका आधारमा अनिवार्य गरिएको प्रशासनले बताएको छ । 

टिपर ब्यवसायीहरुको असहमति
    ‘यस अघि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा नै सवारी साधनको विल बुकमा उल्लेख भएको साढे ७ घन मिटर भन्दा नबोक्न टिपर मजदुरहरुलाई निर्देशन दिईसकिएको छ’–बागमती टिपर ब्यवसायी संघका अध्यक्ष सुरेश खत्रीले भन्नुभयो–‘साढे ७ घनमिटर बोक्ने टिपरहरु तौल पुलमा तौलन जाँदैनन । त्यस भन्दा धेरै बोकेर आउने टिपरहरु तौलनु पर्ने अवस्था भए तौलन निर्देशन दिएका छौं ।’ टिपरको ढाला ३२ इन्च मात्रै भएकाले ढाला बराबरको सामान बोक्न पाउने कानूनी ब्यवस्था उक्त बैठकले गरेकाले ढालासम्म सामान बोकेर आउने टिपरहरु तौल पुलमा नजान निर्देशन दिईसकेको खत्रीले बताउनु भयो । ‘बागमती टिपर ब्यवसायी संघको संस्थागत निर्णय नै कानून अनुसार गर्ने भन्ने छ’–अध्यक्ष खत्रीले भन्नुभयो–‘कानुन भन्दा बाहिर गएर हामी काम गर्दैनौं । कानून अनुसार भएका कामलाई फेरी तौल पुलमा गएर समयको बर्वादी नगर्न, एकै पटक छुट्ने सवारीको चापका कारण सडक जाम नगर्न, निश्चित समय भित्र पुग्ने पर्ने गन्तब्य तथा अब्यवहारीक अवस्थालाई ध्यान दिन मजदुरहरुलाई अनुरोध गरेका छौं ।’ बागमति टिपर ब्यवसायी संघका अध्यक्ष सुरेश खत्रीले बैठकमा असहमति राख्दै टिपरहरु तौल पुलमा जान नसक्ने विषयमा ध्यानाकर्षष गर्दै प्रमुख जिल्ला अधिकारीलाई टिपरको बिल बुकको फोटो कपि समेत बुझाएको बताउनु भएको छ ।