धुलिखेल/मालपोत कार्यालय काभ्रेपलाञ्चोकले साविक भुम्लु र फलाँटे गाविसमा २०३१ सालमा नापी भएर पुर्जा नपाएका स्थानीयहरुलाई पुर्जा वितरण गरी मालपोत कार्यालयले लिखत खोजिरहेको छ । तत्कालिन समयमा नापि भई सिमा विवादका कारण पुर्जा वितरण नहुँदा सोहि क्षेत्रका नागरिकहरुले विजनका आधारमा जग्गा खरिद विक्री गर्दै आएका छन् ।
बर्गिकरण नहुँदा त्यो प्रकृया पनि बन्द भएको थियो । कुनै समय बेजिल्ले पासका कारण पनि लिखत खोज्न समय लाग्ने अवस्था छ । प्रमुख मालपोत अधिकृत ऋषिकुमार दाहालले फलाँटे र भुम्लुको समस्या समाधानका लागि प्रकृया शुरु गरिएको बताउनु भयो । ‘पुर्जा वितरणका लागि मालपोत कार्यालयले गर्नु पर्ने प्रारम्भिक चरणको प्रकृया शुरु गरेको छ’–प्रमुख मालपोत अधिकृत दाहालले भन्नुभयो–‘जति सकिन्छ चाँडो नागरिकहरुलाई पुर्जा वितरणका लागि समन्वय र सहजिकरण गर्नेछौं ।’ पुर्जा नभएकै कारण भुकम्प पछिको पुर्नर्निमाणमा पनि समस्या भएको थियो । लाभग्राही भए पनि पुर्जा नभएका कारण सम्झौता नहुँदा लामो समयसम्म ब्यक्तिले आवास पुर्नर्निमाण गर्न पाएनन् ।
भुम्लुटार गाविसमा कुल ६६३ घरधुरी थिए । उक्त क्षेत्रमा ६ हजार ५ सय जनसंख्या थियो । फलाँटे गाविसमा ४१९ घरधुरीमध्ये ५० घरधुरीले मात्र लालपुर्जा पाएका छन् । २०३७ सालमा उक्त क्षेत्रमा ४ हजार ८ सय लिखत तयार गरिएको थियो । उक्त क्षेत्रको फिल्डबुकका आधारमा मालपोत कार्यालयमा भएको विजन सम्वन्धी लिखत फेला पारे पछि अन्य प्रकृया शुरु हुनेछ ।









