2026 April 26/ 08:12: 33am

    बनेपा/प्रगति प्रभात एकेडेमी माध्यमिक विद्यालयको ३६ औ वार्षिक उत्सव, पुरस्कार वितरण तथा एसईईमा उत्तिर्ण विद्यार्थीहरुलाई विदाई कार्यक्रम बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । 
    प्रमुख अतिथी शाक्यले नगरपालिकाले शिक्षा क्षेत्रमा नयाँ काम गर्न लागेको बताउनु भयो । संस्थागत विद्यालयको भन्दा सामुदायीक विद्यालयको शैक्षिक अवस्था खस्कदै गएकाले नगरपालिकाले आगामी बर्ष चारवटा सामुदायीक विद्यालयलाई नमुना विद्यालय बनाउने घोषणा गरेको बताउनु भयो । चण्डेश्वरी मावि, आजाद मावि, चक्रज्योती मावि र बनेपा आधारभुत विद्यालयलाई शैक्षिक सुधारमा खर्च गर्ने गरी १० लाखका दरले बजेट प्रदान गरिएको शाक्यले बताउनु भयो । सामुदायीक विद्यालयमा विद्यार्थीहरुलाई दिवा खाजा, सेनेटरी प्याड, निशुल्क किताब उपलब्ध भए पनि गुणस्तरीय शिक्षा नभएकाले सुधारका कार्यक्रमहरु थप्दै जाने र संस्थागत विद्यालयलाई पनि नगरपालिकाले केहि नयाँ योजना ल्याउन लागेको बताउनु भयो । कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन प्रिन्सिपल चन्द्रप्रसाद ताजपुरीयाले प्रस्तुत गर्नु भएको थियो । विद्यालयमा शैक्षिक सत्र २०७९ मा नर्सरी देखी कक्षा १२ सम्म ७ सय विद्यार्थीहरुले अध्यापन गरिरहेको, विद्यालयले प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिदै आएको, विद्यार्थीको क्षमता अनुसारको शिक्षा र सिकाई प्रणलीमा जोड दिदै आएको बताउनु भयो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएस्पी रेशम बोहोरा, प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, बनेपा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नृपेश बादे, छात्रा स्मारिका खरेल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । 
    कार्यक्रममा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण, एसईई उतिर्ण २०७८ का विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य शिक्षिका कृष्णाकुमारी मानन्धरले राख्नु भएको थियो भने कार्यक्रमको सभापतित्व विद्यालय सञ्चालक समिति अध्यक्ष तुयुलक्ष्मी शाक्यले गर्नु भएको थियो । कार्यक्रममा सञ्चालक सदस्यहरु अशोक रत्न शाक्य, पुष्पराज कोईराला, धुर्व्रप्रसाद भट्टराई, देवेन्द्र श्रेष्ठ, विभिन्न विद्यालयका प्रिन्सिपलहरु लगायतको सहभागिता रहेको थियो भने विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम गरेका थिए ।