धुलिखेल/राष्ट्रिय युवा संघ काभ्रेको जिल्ला अधिबेशनले इश्वरबल्भव सापकोटाको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ । अधिबेशनबाट रुपक रायमाझी उपाध्यक्ष, सिवी लामा सचिव, अमन धिताल र सुरेश भुजेल उप–सचिव, रमेश बुढाथोकी कोषाध्यक्ष रहेका छन् । जिल्ला कमिटी अध्यक्ष अशोक ब्याञ्जुको अध्यक्ष मण्डलले सर्वसम्मत रुपमा ५८ सदस्यीय कमिटी घोषणा गरेको हो ।
उद्घाटन सभामा एमाले काभ्रेका इन्चार्ज एवं पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री गोकुल बास्कोटाले युवाहरु तिखारिएको काँडा जस्तो हरेक क्षेत्रमा स्पष्ट र सक्रिय हुनु पर्ने बताउनु भयो । युवाहरुमा मेहनत र अध्ययन गर्ने बानी कम हुँदै गएको बताउँदै बास्कोटाले परिवक्व बनाउन र विषयमा दक्षता हासिल गर्न अध्ययन र मेहनत विनाको अर्थ नहुने बताउनु भयो । कार्यक्रममा केन्द्रिय सदस्य एवं ग्रासरुट अभियानका विद्यासुन्दर शाक्य, एमाले प्रदेश कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटीका उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भुर्तेल, उप सचिवद्वय राजकुमार सापकोटा र रिता ढकाल, विभागीय प्रमुखहरु, युवा इन्चार्ज तथा मोर्चा संगठन प्रमुख लगायतका नेताहरुले युवाहरुलाई श्रम र सिपसँग जोड्नु पर्ने बताए । कार्यक्रम संयोजक सागर रायमाझीको अध्यक्षता र सिवी लामाको संचालनमा सम्पन्न भएको थियो ।









