2026 April 26/ 08:12: 32am

– अझै ६ वटा पालिकाले गरेनन बर्गिकरण
    धुलिखेल/स्थानीय तहले भूबर्गिकरण गरे पछि मात्र जग्गाको कित्ताकाट तथा खरिद विक्री हुने भए पनि जिल्लाका ६ वटा स्थानीय तहले अझै जग्गा बर्गिकरण गर्न सकेका छैनन । हिजो बुधबार देखि बर्गिकरण गरिएका तीन वटा पालिकाको लिखत शुरु गरिएको मालपोत कार्यालय जानकारी दिएको छ । 
    ‘पहिलो चरणमा धुलिखेल नगरपालिकाले बर्गिकरण गरेर पठायो’–मालपोत कार्यालय काभ्रेका प्रमुख मालपोत अधिकृत ऋषिकुमार दाहालले भन्नुभयो–‘बनेपा, पाँचखालले बर्गिकरण गरेर पठाए पछि काम शुरु भएको छ ।’ हिजो बुधबारबाट लिखत शुरु गरिएका पालिकाहरु मध्ये पनौती र नमोबुद्ध नगरपालिका, चौरीदेउराली र भुम्लु गाउँपालिका हुन् । जिल्लाको मण्डनदेउपुर नगरपालिका, खानीखोला, महाभारत, रोशी, तेमाल र बेथान्चोक गाउँपालिकाले अझै बर्गिकरण गरेका छैनन । जग्गा बर्गिकरण नभएका कारण ब्यक्तिका पारिवारीक संस्कार समेत रोकिएको छ । पालिकाहरुले आफुसँग जनशक्ति नभएका कारण बर्गिकरणको कार्य टुङ्गयाउन नसकिएको बताएका छन् । जेठबाट रोकिएको जग्गाको लिखतको कार्य हुन नसक्दा नागरिकहरु संकटमा परेको पीडा सुनाउन थालेका छन् ।
भुम्लु र फलाँटेमा पुर्जा वितरणको तयारी 
    मालपोत कार्यालय काभ्रेपलाञ्चोकले साविक भुम्लु र फलाँटे गाविसमा २०३१ सालमा नापी भएर पुर्जा नपाएका स्थानीयहरुलाई पुर्जा वितरण गरी मालपोत कार्यालयले लिखत खोज्न शुरु गरेको छ । तत्कालिन समयमा नापि भई सिमा विवादका कारण पुर्जा वितरण नहुँदा सोहि क्षेत्रका नागरिकहरुले विजनका आधारमा जग्गा खरिद विक्री गर्दै आएका छन् । बर्गिकरण नहुँदा त्यो प्रकृया पनि बन्द भएको थियो । कुनै समय बेजिल्ले पासका कारण पनि लिखत खोज्न समय लाग्ने अवस्था छ । 
    प्रमुख मालपोत अधिकृत ऋषिकुमार दाहालले फलाँटे र भुम्लुको समस्या समाधानका लागि प्रकृया शुरु गरिएको बताउनु भयो । ‘पुर्जा वितरणका लागि मालपोत कार्यालयले गर्नु पर्ने प्रारम्भिक चरणको प्रकृया शुरु गरेको छ’–प्रमुख मालपोत अधिकृत दाहालले भन्नुभयो–‘जति सकिन्छ चाँडो नागरिकहरुलाई पुर्जा वितरणका लागि समन्वय र सहजिकरण गर्नेछौं ।’ पुर्जा नभएकै कारण भुकम्प पछिको पुर्नर्निमाणमा पनि समस्या भएको थियो । लाभग्राहि भए पनि पुर्जा नभएका कारण सम्झौता नहुँदा लामो समयसम्म ब्यक्तिले आवास पुर्नर्निमाण गर्न पाएनन् । 
    भुम्लुटार गाविसमा कुल ६६३ घरधुरी थिए । उक्त क्षेत्रमा ६ हजार ५ सय जनसंख्या थियो । फलाँटे गाविसमा ४१९ घरधुरीमध्ये ५० घरधुरीले मात्र लालपुर्जा पाएका छन् । २०३७ सालमा उक्त क्षेत्रमा ४ हजार ८ सय लिखत तयार गरिएको थियो । उक्त क्षेत्रको फिल्डबुकका आधारमा मालपोत कार्यालयमा भएको विजन सम्वन्धी लिखत फेला पारे पछि अन्य प्रकृया शुरु हुनेछ ।