2026 April 26/ 06:36: 30am

‘विदेश जान्नौं, स्वदेशमै अवसर पाउँ’
    बनेपा/बैदेशिक रोजगारमा गएर फर्किएका महिलाहरुले पुनः रोजगारकै लागि विदेशिन मन नभएकाले क्षमता अनुसारको अवसर पाउन राज्यसँग माग गरेका छन् । ‘महिला भएकै कारण ब्यहोर्नु पर्ने थुप्रै समस्या छन् तर पनि विदेशिनुको बाध्यता र पीडा फरक छ’– श्रमजीवि महिला सञ्जाल काभ्रेकी अध्यक्ष शान्ति श्रेष्ठले भन्नुभयो–‘बेरोजगार भएकै कारण विदेशिनु परेको पीडा विर्सिएर स्वदेश फर्कँदा पनि परिवार र समाजले दिएको मानसिक दबाबले थप पीडा ब्यहोर्नु परिरहेको छ ।’ 
    ११३ औ अन्तराष्ट्रिय श्रीमक महिला दिवसको अवसरमा आयोजित बैदेशिक रोजगारबाट फर्किएका महिलाहरुको समस्या पहिचान सम्वन्धी सरोकारवाला निकायसँगको छलफल कार्यक्रममा बैदेशिक रोजगारबाट फर्किएका महिलाहरुले विदेशिनुको कारण, विदेशमा रहँदाको अवस्था र भोगाई तथा फर्किए पछिको समस्या तथा बेरोजगारकै कारण पुनः विदेशिनु पर्ने बाध्यताका बारेमा अनुभव सुनाएका थिए । श्रमजिवी महिला सञ्जाल काभ्रे र तरंगिणी महिला फाउण्डेशनको आयोजनामा आयोजित कार्यक्रममा सहभागिहरुले विदेशबाट फर्किएका महिलाहरुलाई हेर्ने दृष्टिकोण बदलिन नसकेको धारणा राखेका थिए । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले ६ वटा प्रतिवद्धता ब्यक्त गर्दै समाजको सोच मुख्य समस्या रहेको बताउनु भयो । ‘ब्यक्तिको सोचलाई कुनै नीति र कानूनले बदल्न सक्दैन’–प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भन्नुभयो–‘बैदेशिक रोजगार पछि दृष्टिकोण, रोजगार र पारिवारीक समस्या मुख्य समस्या छन् ।’ 
    बैदेशिक रोजगारमा जान सिपमुलक औपचारिक शिक्षा प्रदान गरी ब्यवसायी र प्राविधिक शिक्षा उपलब्ध गराउन, पीडितका समस्या र गुनासा तिनै तहका सरकार समक्ष पु¥याउन, मनोसामाजिक परामर्श उपलब्ध गराउन, बैदेशिक रोजगारमा जाँदा अपनाउनु पर्ने सुरक्षा तथा आवश्यक रणनीतिका बारेमा सचेत गराउन, घरेलु तथा महिला हिंसाका घटनामा कानून अनुसार कारवाही गर्न र स्थानीय तहमा सुनुवाईको ब्यवस्था मिलाउन पहल गर्ने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले प्रतिवद्धता ब्यक्त गर्नु भयो । प्रहरी प्रमुख एसपी भागेन्द्रपुरुष ढकालले बैदेशिक रोजगारमा गएर फर्किँदा भोग्नु परेका महिलाहरुका समस्या समाधानका लागि प्रहरी कार्यालय तथा मातहतका निकायहरुले खेल्नु पर्ने भूमिकाका बारेमा आफु सचेत रहेको बताउनु भयो । सामाजिक रुपमा बैदेशिक रोजगारबाट फर्किएका समस्यामा प्रहरीले खेल्नु पर्ने भूमिका निर्वाह गर्ने प्रहरी प्रमुख एसपी ढकालले बताउनु भयो । 
    बनेपा नयाँबस्ति घर भएकी ३३ बर्षिया अस्मिता परियार १२ वर्ष लेबनान बसेर फर्किएको केहि वर्ष भयो । १२ वर्ष एउटै घरमा विताएकी अस्मिताले कहिल्यै पुरुषको अनुहार देख्नु भएन । तर पनि नेपालमा फर्किँदा ब्यहोर्नु परेको लाञ्छनाले अझै सताईरहेको छ । विदेशमा कमाएको रकमले जमिन जोडेर पनि बस्ने बास नभए पछि फेरी विदेश जाने तयारीमा हुनुहुन्छ । आमा र भाईको रेखदेखका लागि स्वदेशमा केहि गर्ने अवसर नभएकै कारण पुनः विदेशिन बाध्य भएको उहाँको भनाई छ । अस्मिता जस्तै कविता खत्री, शान्ति तामाङले स्वदेशमा केहि गर्ने अवसर नभएकाले विदेश जाने तयारी गरेको बताउनु भयो । भाषा, सिप नहुँदा विदेशमा नेपालीहरुले पाएको दुखका बारेमा बताउँदै सहभागिहरुले विदेश जानै पर्ने अवस्थामा जुन देशमा जान खोजेको हो सोहि देशको भाषा र सिप सिकेर जानु पर्ने उनिहरुले बताए । ‘हामीलाई नेपालमै केहि गर्ने वातावरण बनाई दिनु प¥यो’–शर्मिला परियारले भन्नुभयो–‘परिवारसँग बसेर केहि गर्ने वातावरण तयार गरिदिनु प¥यो ।’ 
    बनेपा बस्दै आएकी भक्तपुर घर भएकी विना परियारको प्रेम विवाह हो । विदेश गएर फर्किए पछि उनका श्रीमानसँग सम्वन्ध राम्रो भएन । विदेशमा पनि राम्रो कमाई नभए पछि समयावधी अगावै फर्किएकी विनाका दुई छोरी छन् । सिप र अवसर दुबै नभएका कारण सन्तान हुर्काउन धौ धौ छ । श्रीमानसँग सम्वन्ध विच्छेद भईसक्दा पनि श्रीमानको नाम र उपस्थिती विना सहयोग गर्दिन भन्दै सहयोग प्राप्त नभएको उहाँले बताउनु भयो । ‘श्रीमान र परिवार छाडेर विदेशिएका महिलाहरुले पठाएको रकम प्यारो हुन्छ’–शान्ति श्रेष्ठले भन्नुभयो –‘रकम प्यारो हुने परिवारलाई हामी खराव भयौं । श्रीमानलाई सुधार गृहमा राखेर घर बनाउनु पर्ने परिस्थिती निर्माण भयो ।’ कार्यक्रममा श्रमजीवि महिला सञ्जाल काभ्रेकी अध्यक्ष शान्ति श्रेष्ठ, तरंगिणी फाउण्डेशनकी कार्यक्रम संयोजक रेनुका सुर्य, मनोसामाजिकर्ता निर्मला काफ्ले लगायतले विदेशबाट फर्किएका महिलाहरुले भोग्नु परेका समस्या र समाधानका लागि राज्यका निकायहरुले खेल्नु पर्ने भूमिकाका बारेमा सहजिकरण गर्ने बताएका थिए ।