2026 April 26/ 06:36: 11am

    चौवास/रोटरी किवी भिलेज, चौवास, काभ्रेको दोस्रो चरणको कार्यक्रम भुम्लु गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलको प्रमुख आतिथ्यता तथा भुम्लु वडा नम्वर २ का अध्यक्ष लोकबहादुर कुँवरको सभापतित्वमा सम्पन्न भएको छ । 
    रोटरी क्लव अफ पशुपति काठमाडौका सचिव दिपेन्द्र बाँस्कोटाले सञ्चालन गर्नु भएको कार्यक्रममा रोटरीले कृषकलाई किविको बिरुवा उपलब्ध गराएकोमा वडा अध्यक्ष कुँवरले धन्यवाद दिनु भएको थियो । कार्यक्रममा १ हजार ३ सयवटा किवीको विरुवा २ सय ५६ घर परिवारको लागि वितरण गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले रोटरी क्लव पशुपतिले रोटरी क्लब अफ काभ्रे भ्याली बनेपा र अन्य क्लवसँग मिलेर गरेको कार्यलाई प्रशंसा गर्दै गाउँपालिकाको नीति तथा कार्यक्रममा समेत किवी पकेट क्षेत्रमा परेको हुँदा थप २ हजार ५ सय किविको बिरुवा अनुदान दिने प्रतिबद्धता व्यक्त गर्नु भयो । उपस्थित कृषकलाई प्रति परिवार ४ वटा पोथी बिरुवा र २ वटा भाले विरुवा गरी छ वटाको दरले हस्तान्तरण गर्नु भएको थियो । 
रोटरी क्लव अफ पशुपति काठमाडौका अध्यक्ष भुवन सिं कुँवरले कार्यक्रमको उद्देश्य तथा सहयोगको बारेमा जानकारी गराउनु भएको थियो । रोटरी इन्टरनेशनलको आर्थिक तथा सामाजिक विकास सेवा अन्तर्गत समुदायलाई आर्थिक र सामाजिक रूपमा सबल र सक्षम वनाउने दीर्घकालीन योजना अनुसार यो कार्यक्रम तय गरिएको उहाँले बताउनु भयो । फलको राजाको रूपमा नेपाली बजारमा भित्रिएको किविलाई व्यवसायिक रूपमा खेती गरी स्थानीय जनसमुदायको आयआर्जन वृद्धि गर्न स्थानीय सरकार र रोटरी क्लवले आर्थिक, भौतिक र प्राविधिक सहयोग तथा समन्वय प्रदान गरी यो कार्यक्रमलाई सफल बनाउन निरन्तरता दिने प्रतिवद्धता कुँवरले व्यक्त गर्नु भएको थियो । साथै किविको बिरुवा खरीद गर्न आर्थिक सहयोग प्रदान गर्नुहुने दाताहरुलाई कुँवरले विशेष धन्यवाद तथा आभार प्रकट गर्नु भएको थियो । रोटरी क्लव अफ काभ्रे भ्याली बनेपाका अध्यक्ष अनुप श्रेष्ठले क्लबको तर्फबाट सहभागि हुन र सहयोग गर्न अवसर प्राप्त हुँदा खुशी लागेको र भविष्यमा हातेमालो गर्दै अगाडि बढ्न इच्छुक रहेको विचार व्यक्त गर्नु भएको थियो । कार्यक्रममा शुन्य हेल्थको सहकार्यमा करिव एक सय जनाको प्रारम्भिक स्वास्थ्य र सुप्रिम डेन्टल केयरको तर्फबाट दाँतको चेक जाँच गरिएको थियो ।
    कार्यक्रममा रोटरी क्लव अफ पशुपतिका उपाध्यक्ष मिलन कुमार केसी, एडमिन डिरेक्टर हिमालय सिग्देल, सदस्य मुकुन्द बजगाईं, दिनेश सुवेदी, भीम बञ्जरा, रोट्रयाक्ट क्लव अफ पशुपति नेपाल ल क्याम्पसका अध्यक्ष सृष्टि राउत, कोषाध्यक्ष शारदा थापा, प्रेसिडेन्ट इलेक्ट संगिता गौडेल, पुस्तकालय अभियन्ता तथा लेखक बिकु लामा लगाएतको सहभागीता रहेको थियो ।