कार्यकारी सम्पादक तिमल्सिना सम्मानित
बेथान्चोक/बेथान्चोक जेसीजको पदस्थापन, पद हस्तान्तरण तथा ब्यक्तित्व सम्मान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । बेथान्चोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । वर्ष २०२२ का अध्यक्ष डिकमान लामाले वर्ष २०२३ का अध्यक्ष शान्ति खत्रीलाई पद हस्तान्तरण गर्नु भएको थियो ।
चेष्टा साप्ताहिकका कार्यकारी सम्पादक एवं नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिनालाई बेथान्चोक जेसीजको मानार्थ सदस्य सहित सम्मान गरिएको छ । वर्ष २०२२ का अध्यक्ष डिकमान लामाले बेथान्चोक जेसीजलाई जिल्ला तथा राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेकोले तिमल्सिनालाई मानार्थ सदस्य सहित सम्मान गरिएको बताउनु भयो । दोसल्ला, मायाको चिनो तथा प्रमाणत्रद्वारा तिमल्सिनालाई अध्यक्ष डिकमान लामा, प्रमुख अतिथी गाउँ पालिका अध्यक्ष भगवान अधिकारी, निर्वतमान अध्यक्ष प्रेमबहादुर तिमल्सिना, उपाध्यक्ष तारा तिमल्सिना लगायतले सम्मान गर्नु भएको थियो । सोहि अवसरमा ब्यक्तित्व सम्मान स्थानीय समाजसेवी पुर्व जनप्रतिनिधि गेणप्रसाद तिमल्सिनालाई सम्मान गरिएको थियो ।
जेसीजले वर्ष २०२२ मा सामाजीक कृयाकलापमा उत्कृष्ट भएकोमा नेपाल जेसीजको एरिया सिबाट उत्कृष्ट जेसीज शाखा सम्मान प्राप्त गरेको थियो । फलफुल तथा विभिन्न जातका ७ सय विरुवाहरुको बृक्षारोपण, मृगौला पीडितलाई आर्थिक सहयोग, सेनेटेरी प्याड वितरण, स्टेशनरी सामान वितरण, रक्तदान कार्यक्रम, निर्वाचित जनप्रतिनिधिहरुको सम्मान, अन्तराष्ट्रिय खाना महोत्सवमा सहभागिता लगायतका विविध रचनात्मक कार्य गरेको थियो । सोहि कार्यका आधारमा शाखा सम्मानित भएको अध्यक्ष डिकमान लामाले बताउनु भयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष अधिकारीले जेसीजले बेथान्चोकको विकास र समृद्धीमा गाउँपालिकाको सहकार्य रहने बताउनु भयो । कार्यक्रममा निर्वतमान अध्यक्ष प्रेमबहादुर तिमल्सिना, उपाध्यक्ष तारा तिमल्सिना, जेसीज राष्ट्रिय उपाध्यक्ष राजाराम गौतम, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिना, पुर्व अध्यक्ष महेश पौड्याल, संस्थापक अध्यक्ष मुक्तिनाथ तिमल्सिना, मातृ शाखा भकुण्डेबेशी जेसिज २०२२ का अध्यक्ष प्रमोद काफ्ले, मानार्थ सदस्य मछिन्द्र लामा, वर्ष २०२३ अध्यक्ष शान्ति खत्री लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा जेसीज आस्था पाठ, मिसन र भिजनका बारेमा कामना शर्मा, मोहनकृष्ण तिमल्सिना, महासचिव प्रदीप आचार्य, विनोद तिमल्सिना लगायतले जेसीजका कृयाकलापका बारेमा जानकारी गराएका थिए । सोहि अवसरमा सहयोगीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।









