जनागाल/आदर्श विद्या मन्दिर (एबिएम स्कूल) बनेपामा कक्षा ११ र १२ को सामाजिक विषयमा अध्ययनरत विद्यार्थीले परिवर्तनका लागि हामी (we for change) नामक समूह बनाएर खाजाको पैसा र तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको पैसाबाट बचत गरी आगलागी भई घरबार विहिन एकल महिलालाई सहयोग गरेका छन् । सहयोग रकमको राशी ४० हजार एकसय पचास रुपैयाँ छ ।
विद्यार्थीले एकल महिलाको छोराछोरीलाई एबिएम स्कूलको कक्षा १२ सम्म निःशुल्क पढाई दिने, कानुन संकायका विद्यार्र्थीले निःशुल्क कानुनी सहयोग गर्ने र आमसंचार विषयमा अध्ययनरत विद्यार्थीले उनको पारिवारीक अवस्थाका विषयमा अध्ययन गरी सार्वजनिक गर्ने निर्णय गरेका छन् । व्यवहारिक शिक्षा लिने र दिने क्रममा पीडित महिलालाई सहयोग गर्दै बनेपा नपा–१० जनागाल स्थित एकल महिलाको घर अगाडी जम्मा भएर लैंगिक हिंसा विरुद्धको सचेतना कार्यक्रम समेत संचालन गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले विद्यार्थीहरुले खाजाको पैसाबाट छुट्टयाएर सहयोग गर्ने भाईबहिनीहरुलाई धन्यबाद दिनु भएको थियो । यस्ता कार्य र सामाजिक क्षेत्रमा सहयोग गर्न प्रेरित गर्ने विद्यालयलाई आगामी दिनमा समेत निरन्तरता दिन गौतमले आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाले कोहि पनि नगरबासीलाई कुनै पनि समस्या परेमा नगरपालिकाले सहयोग गर्ने बताउनु भयो । आगलागी पीडित भवानी हुमागाईलाई नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता उप–प्रमुख सापकोटाले ब्यक्त गर्नु भएको थियो । कोहि ब्यक्ति हिंसामा पर्नु भएको छ भने नगरपालिका आउन र समस्या नलुकाउन सुझाब दिनु भयो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय काभ्रेकी डिएस्पी अन्जना श्रेष्ठले जिल्लामा घरेलु हिंसा बढ्दै गएकाले न्युनीकरणका लागी सबै क्षेत्रबाट लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी रेशम बोहोरा, मानव अधिकारकर्मी भोजराज तिमल्सिना, बनेपा नपा १० का वडाध्यक्ष चन्द्रबहादुर खड्का, वडा नम्बर ११ का वडाध्यक्ष शिवकुमार थापा, हंसदा योग आश्रमका संरक्षक, विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिना लगायतको सहभागिता रहेको थियो । श्रीपञ्चमीका दिन पारेर आयोजित कार्यक्रममा विद्यार्थीहरुले घरेलु हिंसा रोकथाम सम्बन्धी नाटक प्रस्तुत गरेका थिए । टिनले घेरेर बनाएको टहरा समेत आगलागी भएर घरबार विहिन उक्त महिलाका लागि वडामा जम्मा भएको सहयोग रकम समेत वडाध्यक्ष चन्द्रबहादुर खड्काले सोही कार्यक्रममा पीडित महिलालाई प्रदान गर्नु भएको थियो ।









