बनेपा/आठौ राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति काभ्रे, महिला पतञ्जली योग समिती काभ्रे र युवा नेपाल काभ्रेको संयुक्त आयोजनामा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईएको छ ।
योग दिवसको पहिलो दिन बनेपा नगरमा योग सम्बन्धि जनचेतना फैलाउने र योग जागरण बढाउन प्रभात फेरी कार्यक्रम आयोजना गरिएको थियो । प्रभातफेरी कार्यक्रममा पतञ्जली योग समिति नेपाल वागमती प्रदेश प्रमुख ग्रुवेन तौजलेको प्रमुख आतिथ्यता रहेको थियो । प्रभातफेरीमा बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी, वडा नम्बर ७ का अध्यक्ष हिटलर शाक्य, वडा नम्बर १० का अध्यक्ष चन्द्रबहादुर खड्का, पतञ्जली योग पिठ हरिद्धारका कर्पोरेट सदस्य उद्धबप्रसाद तिमल्सिना लगाएतले योग गर्नाले स्वस्थय र निरोगि रहनुका साथै योगका विभिन्न फाईदाका बारेमा मन्तब्य राख्नु भएको थियो । प्रभातफेरीमा पतञ्जली योग समिति काभ्रे, महिला पतञ्जली योग समिती काभ्रे र युवा नेपालका पदाधिकारीहरु, योग साधना केन्द्रका पदाधिकारीहरु लगाएतको सहभागिता रहेको थियो । त्यसै गरी दोश्रो दिन पतञ्जली योग समिति काभ्रे अन्र्तगत सम्पुर्ण योग साधना केन्द्रहरुमा १ सय ८ सुर्य नमस्कार अभ्यास सम्पन्न गरेको थियो । उक्त कार्यक्रम योग भवनमा पतंजली योग समिति नेपाल वागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठले शुभारम्भ गर्नु भएको थियो ।
योग दिवसको तेस्रो दिन योग हलमा देव यज्ञ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा पतञ्जली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्व रहेको थियो ।









