2026 April 26/ 05:10: 22am

    धुलिखेल/दुर्घटना हुने वित्तिक्कै चालकलाई स्टेरिङ्गमै राखेर जलाउन थाले पछि यातायात क्षेत्रको ब्यवसाय असुरक्षित देखेर कृषि ब्यवसायमा सहभागि भएका पनौती ७ काभ्रेका देवकृष्ण मानन्धर राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कारबाट सम्मानित हुनु भएको छ । कृषि ज्ञान केन्द्र काभ्रेले सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका तीन÷तीन जना कृषकहरुलाई नगद १५ हजार सहित सम्मान गरेको हो । 
    कार्यालयले उत्कृष्ठ कृषक छनौटका लागि मापदण्ड तोकेर खुल्ला निवेदन माग गरेको थियो । सोहि मापदण्डका आधारमा काभ्रेपलाञ्चोकबाट ४४ वटा र सिन्धुपाल्चोकबाट १३ गरी ५७ वटा आवेदन परेका थिए । हरेक आवेदनका आधारमा जिल्ला स्तरीय पुरस्कार छनौट समिति फार्ममा पुगेको थियो । मापदण्डमा तोकिए अनुसार प्राप्ताङ्कका आधारमा उत्कृष्ट ६ जना सम्मानित भएका हुन् । ‘जिल्लाबाट छनौट भएका उत्कृष्ठ कृषकहरु प्रदेशमा प्रतिस्पर्धाका लागि योग्य छन्’–कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडीले भन्नुभयो–‘जिल्ला र प्रदेशबाट छनौट भएका उत्कृष्ठ कृषकहरुलाई संघ सरकारले समेत नगद ५ लाख सहित सम्मान गर्नेछ ।’ उत्कृष्ठ कृषक सम्मान कार्यक्रमले कृषकहरुलाई हौसला, सम्मान र कृषि पेशाको समेत महत्व बढाएको ज्ञान केन्द्र प्रमुख दवाढीले बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्लाको पनौती २ नयाँगाउँका रमेश आचार्य र पनौती ८ का रविन्द्र बञ्जारा सम्मानित हुनु भएको छ भने सिन्धुपाल्चोक जिल्ला मेलम्ची १ का श्रीकृष्ण धिमाल, सिन्धु मल्टि पर्पाेज प्राली र लिसंखुपाखर ४ की देउकुमारी शाक्य सम्मानित हुनु भएको छ । उहाँहरुलाई जिल्ला समन्वय समिति प्रमुख दिपकुमार गौतम, कृषि ज्ञान केन्द्र प्रमुख तेजप्रसाद दवाढी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेका प्रमुख राजकुमार हुमागाईले प्रमाणपत्र, दोसल्ला र नगद सहित सम्मान गर्नु भएको थियो । 
    कृषक रमेश आचार्यले २१ वटा भैसी, १० वटा गाई पालन परी कृषि फार्म संचालन गर्नु भएको छ । सोहि फार्ममा पालेका पशुहरुको दुध मार्फत डेरी संचालन गर्नु भएको छ । १७ रोपनी जमिनमा तरकारी र घाँस खेति गरी रोजगारी श्रृजना गर्नु भएको छ । कृषक देवकृष्ण मानन्धरले उच्च प्रविधि युक्त संरक्षित संरचना निर्माण गरि विभिन्न किसिमका मौषमी तथा बेमौसमी तरकारी खेति गरेका छन् । ३ रोपनी जमिनमा मानन्धरले तरकारीका साथै हाँस पालन गरिरहनु भएको छ । कृषक रविन्द्र बञ्जाराले ८ रोपनी जमिनमा २५ वटा बाँस र १४ वटा फलामको टनेल मार्फत विभिन्न किसिमका मौसामी तथा बेमौसमी तरकारी प्राङ्गारीक तवरबाट उत्पादन गरिरहनु भएको छ । कृषक देउकुमारी शाक्यले लिसंखुपाखर ४ मा ५ रोपनी जमिनमा २६ वर्ष देखि ब्यवसायीक किवी खेति गरिरहनु भएको छ । २०५२ सालमा तरकारी खेति शुरु गरेर बजारीकरण गर्न नसके पछि हार मानेर ब्यवसाय छाड्नु भएकी देउकुमारी शाक्यले यो वर्ष ७ सय केजी भन्दा धेरै किवी अनलाईन मार्फत मार्केटिङ्ग गरेर विक्री गर्नु भएको थियो । निरन्तर लागिरहँदा सफलता प्राप्त हुने अनुभव देउकुमारीले सुनाउनु भयो । 
    त्यस्तै कृषक श्रीकृष्ण धिमाल कोभिड १९ अघि बैदेशिक रोजगारमा जानु भएको थियो । क्यानाडा पठाउने दलालले अन्यत्र पठाएर अलपत्र पारे पछि फर्किएर कृषि खेति शुरु गर्नु भएको थियो । १८ वटा माउ भैसी, ६ वटा माउ गाई र १४ वटा टनेल मार्फत खेति गरिरहनु भएका धिमालले डेरी समेत संचालन गरिरहनु भएको छ । सम्मानित भएको सिन्धु मल्टि पर्पाेज कम्पनी प्रा.लीले सिन्धुपाल्चोक जिल्ला मेलम्ची १ मा ८० रोपनी जमिन खरिद गरी खुल्ला जमिनमा टनेल सहित तरकारी खेति गरेको, फलफुल खेति अम्बा, एभोकाडो, कागती, अलैची, बाख्रा तथा स्थानीय कुखुरा, होमस्टे संचालन र जैविक विविधता संरक्षण सहित एग्रो टुरिजम शुरु गरेको छ । २५ जना शेयर सदस्य रहेको उक्त कम्पनीमा ५ वटा प्रदेश समेटिएको संचालक झलकप्रसाद सुवेदीले बताउनु भयो । कृषि र पशुपालनमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदेश्यका साथ फार्म संचालन गरिरहेको उहाँले बताउनु भयो । कार्यक्रममा समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले कृषिमा दिने अनुदान उत्पादनका आधारमा हुनु पर्ने बताउनु भयो ।