2026 April 26/ 05:06: 59am

    ताल्ढुङ्गा/बालविवाह न्यूनिकरण गर्ने उदेश्यले खानीखोला गाउँपालिकामा ‘जुनकिरी’ नामक सडक नाटक प्रदर्शन गरिएको छ । पुष १७ देखि पालिका भित्रका ८ वटा माध्यमिक विद्यालयहरुमा बालविवाह विरुद्ध जनचेतनाका लागि सडक नाटक प्रस्तुत गरिएको छ । पुष २१ सडक नाटक ताल्ढुंगामा समापन गरिएको छ । 
    गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले नाटकमा २० वर्ष नपुगी विवाह गर्नु हुँदैन भन्ने मुल सन्देश रहेको बताए । अभिभावक कुलतमा लाग्दा बच्चामा पर्ने मानसिक असरसँगै छोराछोरीलाई विद्यालय पठाउने मात्रै नभई उनीहरुको पढाई के कस्तो भइरहेको छ भनेर हेर्ने महत्वपूर्ण जिम्मेवारीलाई समेत नाटकले देखाएको अध्यक्ष थिङ्गले बताउनु भयो । उपाध्यक्ष दोर्जेमान जिम्बाले जग्गा, पैसा भन्दा ठुलो सम्पत्ति छोराछोरी भए पनि उनीहरुको उज्यालो भविष्यका लागि अभिभावक जिम्मेवार हुन नसकेको बताए । नाटकमा बालविवाहको कारण व्यक्ति र समाजमा पार्ने असरलाई देखाउँदै यसको न्यूनिकरणका उपाय समेत प्रस्तुत गरिएको उपाध्यक्ष जिम्बाले बताए । त्यस्तै शिक्षा अधिकृत विष्णु अधिकारीले गाउँपालिका भित्र बालविवाह बढ्न थालेपछि यसैलाई केन्द्रित गरेर ‘जुनकिरी’ नाम नाटक देखाएको र यसले बालविवाहमा कमी आउने विश्वास व्यक्त गरे । 
    बालविवाहलाई मुख्य केन्द्रबिन्दुमा राखेर निर्माण गरिएको करिब ४५ मिनेटको नाटकमा बालविवाह गर्दा जेल पर्ने देखि लिएर उमेर नपुगी विवाह गरी जन्मेका बच्चाको जन्म दर्ता लगायतका कानूनी समस्याका साथै घरझगडा बालबालिकामा पर्ने मानसिक असरलाई देखाउन खोजिएको थियो । गाउँपालिका अध्यक्ष थिङले कलाकारहरुलाई प्रमाणपत्रद्धारा सम्मान गर्नु भएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष थिङ, उपाध्यक्ष जिम्बा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत लक्ष्मीप्रसाद अधिकारी, वडा अध्यक्ष, पालिकाका विभिन्न शाखाका प्रमुख, विद्यार्थी र स्थानीयको सहभागिता रहेको थियो ।