2026 April 26/ 05:08: 06am

भकुण्डेवशी/नमोबुद्ध नगरपालिका–३, दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीत भण्डार (कोल्ड स्टोर) निर्माण थालिएको छ । 
शित भण्डारको शिलान्यास गर्दै नगर प्रमुख कुन्साङ लामाले नगरका सबै वडाका कृषकका अलावा छिमेकी रोशी, तेमाल र महाभारत गाउँपालिकाका कृषक समेत लाभान्वित हुने बताउनु भयो । पहिलो चरणमा बन्ने एक तल्ले भवन ३ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको वडा अध्यक्ष रमेश तिवारीले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष कृष्णप्र्रसाद खनाल, कांग्रेस नगर कार्यवाहक उपसभापति इन्द्रबहादुर दाहाल, माओवादी केन्द्रका नगर अध्यक्ष मिण्डु लामाले नगरका सबै कृषक लाभान्वित हुने गरी योजना ल्याएको नगरपालिकाको वर्तमान नेतृत्वलाई धन्यवाद दिनु भएको थियो । शिल्यान्यास कार्यक्रममा नगर उपप्रमुख रत्नबहादुर लामा, नगरका प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष टिकाबहादुर केसी, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, वातावरण अधिकृत सन्तोष काफ्ले, वडा नं ३ का सदस्य गोकुल भुर्तेल, रेशम दाहाल, उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण दाहाल, सचिव अर्जुन तिवारी लगायत स्थानीय उपभोक्ता समेतको उपस्थिती थियो । 
कार्यक्रममा नगरपालिकामा सञ्चालित जलवायु अनुकुलन कार्यक्रम मार्फत पहिलो चरणमा ८५ लाख विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिनुभयो । लम्सालले  शीत भण्डार नगर क्षेत्रकै पहिलो हो । शीत भण्डार सञ्चालनमा आएपछि नमोबुद्धका अलावा छिमेकी रोशी, तेमाल, महाभारत गाउँपालिकाका कृषक समेत लाभान्वित हुनेछन् । यसअघि अन्न भण्डारणकै लागि महंगो मूल्य तिरेर पाँचखाल, बनेपा, पनौतीसम्म पुग्नुपर्ने बाध्यता हट्ने लम्सालले वताउनु भयो ।  
पहिलो चरणमा स्थानीय लागत सहभागिता समेत ९९ लाखको काम हुनेछ । १५ प्रतिशत स्थानीय उपभोक्ताले बेहोर्नेछन् । ८ करोड ३६ लाख ४६ हजार ९ सय ९९ रुपैंया कूल लागत अनुमान तयार भएको भण्डारलाई बहुबर्षीय योजनामा समावेश गरेर पुरा गर्ने नगरपालिकाको तयारी छ । प्रति च्याम्बर ३० मेट्रिकटनका दरले ६ च्याम्बरमा १ सय ८० मेट्रिकटन तरकारी, फलफुल र अन्न भण्डारण गर्न सकिने नगरपालिकाका इञ्जिनियर उज्वल अर्यालले बताउनु भयो ।