2026 April 26/ 03:00: 50am

    पनौती/नेपाली पर्यटनको आधार ईतिहास र सँस्कृतिको धरोहर भन्ने मूल नाराका साथ पनौती नगरपालिकाको आयोजानामा शिक्षा शास्त्र केन्द्रीय विभाग कीर्तिपुर र नेपाल ईतिहास संघ काठमाडौको संयुक्त आयोजनामा ईतिहास संस्कृति तथा पर्यटन विषयक राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । 
    गोष्ठीको उद्घाटन विश्व विद्यालय अनुदान आयोग तथा नेपाल इतिहास संघका पूर्व अध्यक्ष प्रा.डा.कृष्णबहादुर थापाले गर्नु भएको थियो । थापाले नेपाल पर्यटकीय गन्तब्यको रुमपा रहेको र प्राकृतिक र साँस्कृतिक धार्मिक दृष्टिकोणले विश्वको उत्कृष्ट रहेको बताउनु भयो । विश्वको सर्वोच्च शिखर सगरमाथा र पवित्र तीर्थस्थल लुम्बिनीले नेपाललाई आकर्षक गन्तब्य बनाएको थापाले वताउनु भयो । युनेस्कोले स्वयम्भुनाथ, बौद्ध, चाँगुनारायण, पशुपतिनाथ, काठमाडौ दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, लुम्बिनी, राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुन्जलाई विश्व सम्पदा सुचीमा राखिसकेको र समग्र नेपालको प्राकृतिक र साँस्कृतिक सम्पदा रहेको थापाले बताउनु भयो । 
    कार्यक्रममा स्वागत मन्तब्य पनौती नगरपालिका उप–प्रमुख गीता बन्जाराले राख्नु भएको थियो । कार्यक्रममा नेपाल इतिहास संघका अध्यक्ष प्रा डा.ज्ञानेन्द्र पौड्याल, शिक्षा शास्त्र केन्द्रिय विभाग प्रमुख प्रा.डा. कविप्रसाद पोखरेल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । गोष्ठिमा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पनौती नगरपालिका विकासको प्रचुर सम्भावना बोकेको ऐतिहासिक साँँस्कृतिक भुमि भएको बताउनु भयो । पनौती नगरपालिकालाई छिट्टै विश्व सम्पदाको सुचीमा पार्ने गरी यसअघि भएको कामलाई निरन्तरता दिने उहाँले बताउनु भयो । पनौती नगर पालिकामा शिक्षा, खेलकुद, कृषि, सहकारी, सामुदायिक वन, पनौतीको मुटुमा रहेको ईन्द्रेश्वर महादेव, ऐतिहासिक १२ वर्षे मकर मेला लाग्ने र पनौतीलाई विश्वमा चिनाउन सफल भएको बताउनु भयो । पनौती नगरपालिका जैविक विविधताले भरिपूर्ण रहेको, प्राकृतिक सम्पदाको उचित ब्यबस्थापन र दिगो उपयोग महत्वपूर्ण रहेको भण्डारीले बताउनु भयो । पनौती र यसका वरपर रहेका मठ मन्दिरहरु विश्वका निकै सम्भाव्यता मध्येको एउटा सभ्यता रहेको सँस्कृतविदहरुले बताउदै आएको, पनौतीमा पर्याबरण, बास्तुकला, सँस्कृति र सँस्कारको संरक्षण र सम्बद्र्धन गरी पर्यटकीय बजारीकरण गर्ने नगर प्रमुख भण्डारीले बताउनु भयो । गोष्ठीमा नेपाल ईतिहास सघंका संस्थापक सचिब प्रा.डा.दिलबहादुर क्षेत्री संस्थापक कोषाध्यक्ष प्रा.डा.मीना ओझा र शिव प्रसाद जंगमलाई सम्मान गरिएको थियो भने डा.बम बहादुर अधिकारीका कृतिहरु, डीन जगतप्रसाद पराजुलीका कृतिहरु विमोचन गरिएको थियो । गोष्ठीमा विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । आईतबार समापन भएको गोष्ठिमा पनौती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपाने, बरिष्ठ प्रशासकिय अधिकृत ईन्द्रप्रसाद अधिकारीलगायतका अन्य प्राध्यापकहरुको सहभागिता रहेको थियो । गोष्ठीको सभापतित्व नगर प्रमुख रामशरण भण्डारीले गर्नु भएको थियो भने सञ्चालन महेश्वर जंगमले गर्नु भएको थियो ।