2026 April 26/ 03:25: 39am

    दाप्चा/नमोबुद्ध नगरपालिकाले ११ वटै वडाबाट सहभागी गराएर लंैगिक हिंसाविरुद्ध अभिमुखिकरण गरेको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर प्रत्येक वडाबाट १५ जनाका दरले सहभागी गराएर ५ दिन तालिम सञ्चालन गरिएको महिला तथा बालबालिका शाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन् । 
    उनका अनुसार, वडा नं २, ३, ४, ५, ६ र ७ लाई ३ समूहमा नगरपालिकामा नै, वडा नं १ र ११ लाई कपरढुंगामा र वडा नं ८, ९ र १० लाई छत्रेबाँझमा १ दिने अभिमुखिकरण गरिएको हो । मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले लैंगिकता, महिला अधिकार, शसक्तिकरण लगायतका बिषयबस्तुमा अभिमुखिकरण गरेका थिए । शनिवार वडा नं ९ को कार्यालयमा समापन गरियो । समापनमा नगर प्रमुख कुन्साङ लामाले नगरमा लैंगिक हिंसा नहोस् भन्नको लागि आफू सचेत भएको भन्दै बर्षभरी नै लैंगिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । हिंसा गर्नेलाई सार्वजनिक सेवा, सुविधा नदिने भन्दै उनले कोही हिंसामा परिहाले निशुल्क कानूनी सहायता दिने प्रतिबद्धता जनाए । नगर उपप्रमुख रत्नबहादुर लामाले यस्ता अभिमुखीकरण महिला सशक्तिकरण र आत्महत्या नियन्त्रणको लागि उपयोगी हुने विश्वास व्यक्त गरे । उनले नगरले विभिन्न सिप तथा आयमूलक तालिम सञ्चालन गर्ने भन्दै सहभागिताको लागि अनुरोध गरे ।