2026 April 26/ 03:21: 49am

धुलिखेल/जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्ला आपतकालीन संचालन केन्द्र र स्थानीय आपतकालीन संचालन केन्द्रको समन्वय बैठक तथा विपदजन्य पुनःनिर्माण तथा पुर्नस्थापना अनुदान सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
    प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका १३ वटा पालिकाका सरोकारवाला ब्यक्तिहरु सहभागी भएका थिए । स्थानीय गैरसरकारी संस्थाका प्रतिनिधिहरु समेत सहभागि रहेको उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले स्थानीय तहमा रहेको आपतकालीन संचालन केन्द्रलाई प्रभावकारी र कृयाशिल बनाउनु पर्ने बताउनु भयो । ‘स्थानीय तहमा रहेको आपतकालीन संचालन केन्द्र जबसम्म प्रभावकारी र सक्रिय हुन सक्दैन तबसम्म विपदजन्य घटनामा पीडित भएकाहरुले अनुदान पाउन सक्दैनन’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘मनसुनजन्य, आगलागीजन्य विपद, नीजि आवास पुनर्निमाण र पुर्नस्थापना अनुदानमा प्राविधिक, आर्थिक र भौतिक सहयोगका लागि स्थानीय संचालन केन्द्र प्रमुख जिम्मेवार हो ।’ स्थानीय संचालन केन्द्रबाट सिफारीस नहुँदासम्म राहत तथा अनुदान उपलब्ध नहुने उहाँले बताउनु भयो । 
    सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले प्राविधिहरुले कार्यविधिमा रहेको निर्देशनलाई अक्षरस पालना गर्न र विपदजन्य घटनामा नागरिकहरुलाई पुर्नस्थापना तथा पुनर्निमाणमा सहज बनाउन अनुरोध गर्नु भयो । प्राविधिकहरुको पूर्ण विवरण विना स्थानीय तथा जिल्ला आपतकालीन संचालन केन्द्रले अनुदान उपलब्ध गराउन नसक्ने भएकाले सत्य तथ्य र जिम्मेवारपूर्ण भएर नागरिकहरुको सेवा गर्न तोकिएको कार्यविधीलाई पालना गर्न सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले अनुरोध गर्नु भयो । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरण काठमाडौले उक्त कार्यक्रममा सहजिकरण गरेको थियो । काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकामा फरक फरक खालका विपद भईरहेकाले त्यसको रोकथाम र विपद पछिको उद्दारका लागि आवश्यक योजना सहितको तयारी गरिएको छ । सडक दुर्घटना, बाढी तथा पहिरो, चट्याङ्ग, आगलागी लगायतका घटना भईरहेको तथ्याङ्कले देखाएको छ । 
    विपद् ब्यवस्थापन तथा आपतकालिन केन्द्र संचालनका लागि नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरी लगायतको युनिट कृयाशिल रहेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । विपदमा परेकाहरुलाई अस्थायी आवास निर्माणका लागि स्थानीय आपतकालीन संचालन केन्द्रको निर्णय अनुसार ५० हजार रुपैया नगद उपलब्ध गराउने ब्यवस्था छ भने घडेरी समेत नभएकालाई ३ लाख रुपैयासम्म उपलब्ध गराउने ब्यवस्था छ । वेपत्ता भएकाहरुले मृत्यु भएका सरह राहत उपलब्ध गराउने ब्यवस्था छ । जिल्लामा हुने विपद सम्वन्धी सूचना दैनिक संकलन गरी केन्द्रीय आपतकालीन केन्द्रमा पठाउने गरिएको छ ।