2026 April 26/ 01:16: 04am

    धुलिखेल/काठमाडौ विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि स्नात्तकोत्तर तहमा हेल्थ इन्फोरम्याटिक्स विषयमा अध्यापन शुरु गर्ने भएको छ । नेपालमै पहिलो पटक शुरु हुन लागेको उक्त विषयको अध्ययनका लागि पहिलो वर्ष विश्वविद्यालय १० जना विद्यार्थीलाई मात्रै अवसर प्रदान गर्नेछ । 
    विश्वविद्यालयका डिन डा.मनिष पोखरेलले कोर्षका बारेमा जानकारी गराउँदै हेल्थ इन्फोरम्याटिक्स स्वास्थ्य विज्ञान तथा सूचना प्रविधिको सम्मिश्रण भएको बताउनु भयो । उक्त विषयको अध्ययन पछि स्वास्थ्य क्षेत्र सँग तथ्याङ्क प्रशोधन गर्ने, स्वास्थ्य प्रणालीहरुको विकास गर्ने तथा स्वास्थ्य क्षेत्रमा नविन खोज एवं अन्वेषण गर्न सहज हुनेछ । नेपालमा मात्र नभएर विश्वभर जनशक्तिको प्रचुर आवश्यकता रहेकाले उक्त विषय शुरु गरिएको हेल्थ इन्फोरम्याटिक्सका कार्यक्रम संयोजक तथा डिपार्टमेन्ट अफ कम्पयुटर साईन्स एण्ड इन्जिनियरिङ्गका उप प्राध्यापक सन्तोष खनालले बताउनु भयो । स्नात्तकोत्तर शैक्षिक कार्यक्रम स्थापना तथा संचालनका लागि ४८ क्रेडिट कोर्ष अध्यापन हुनेछ । यो अवधीको २ वर्ष रहनेछ । यस शैक्षिक कार्यक्रममा हाललाई एक पटकमा १० जना विद्यार्थी भर्ना गरिने उहाँले बताउनु भयो । 
    यो कार्यक्रम संचालनका लागि काठमाडौ विश्वविद्यालयले यूरोपियन यूनियनको इरसम्स +, कार्यक्रम अन्र्तगत नेपालिज एजुकेसन ईन इ हेल्थ मास्टर (एनईईएम) परियोजना मार्फत ओस्लो युनिभर्सिटी, नर्वेसँग सहकार्य हुनेछ । परियोजना अन्र्तगत युनिभर्सिटी इन्स्टिच्युट अफ लिसवन, पोर्चुगल आईएससिटिईको पनि कार्यक्रममा सहयोग हुनेछ । काठमाडौ विश्वविद्यालय डिपार्टमेन्ट अफ कम्प्युटर साईन्स एण्ड इन्जिनियरिङ र स्कुल अफ मेडिकल साईन्सका प्राध्यापक लगायत विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रका विषय विज्ञहरु संलग्न रहनेछन् । यो कार्यक्रम विश्वविद्यालयको चौकोट स्थित लङस सेन्टरमा संचालन हुने डा. बालकृष्ण बलले बताउनु भयो । कार्यक्रममा अभिषेक महतले यसको आवश्यकता र महत्व तथा अनुभव प्रस्तुत गरेका थिए ।