कुशादेवी/पनौती नगरपालिका वडा नम्बर २ स्थित धाराचौर खेलमैदानमा जिल्ला ब्यापी अन्तर पालिका स्तरिय भलिबल प्रतियोगिता सुरु भएको छ ।
कार्तिक ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन एक कार्यक्रमकाबीच पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले गर्नुभएको हो । कार्यक्रम उद्घाटन गर्दै नगर प्रमुख भण्डारीले नगरपालिकाले खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । खेलकुदले सामाजिक विकास, मानसिक र शारिरिक विकासका लागि सहयोग गर्ने भएकाले खेल क्षेत्रको महत्व रहेको उहाँको भनाई थियो । त्यसै गरी निवर्तमान नगर प्रमुख भीम न्यौपानले यसअघि ५ वटा वडामा खेलमैदान व्यवस्थित गरेको जानकारी दिँदै बाँकी वडामा पनि व्यवस्थित खेल मैदान निर्माणका लागि आग्रह गर्नुभएको छ । उपप्रमुख गिता बञ्जाराले युवाहरुलाई समेटेर आयोजना हुने यस्ता प्रतियोगिताले समुदायलाई समेत समेट्ने बताउनु भयो । वडा नम्बर २ का वडा अध्यक्ष तथा प्रतियोगिता मुल समारोह समितिका संयोजक पुरुषोतम अधिकारीले आन्तरिक पर्यटन प्रर्वद्धनका लागि प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभएको छ ।
कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, पनौती उद्योग बाणिज्य संघका उपाध्यक्ष पुनम जंगम, समाजसेवी जंगबहादुर जंगम, कुशादेवी युवा क्लवका अध्यक्ष दिपेश घिमिरे, लगायत विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा आठ टिम सहभागी छन् । महाभारत गाउँपालिका, खानीखोला गाउँपालिका, बेथानचोक गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका र आयोजक टिम सहित आठ टिम सहभागी भएका हुन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ रुपैया सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । उप विजेता टिमले ३० हजार प्राप्त गर्नेछ । सान्त्वना दुई टिमलाई नगद १०÷१० हजार प्रदान गरिने छ । प्रतियोगितामा ३ लाख ४६ हजार रुपैया खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागि पनौती उद्योग बाणिज्य संघका उपाध्यक्ष पुनम जंगमले दुई टिमका लागि निशुल्क जर्सि र भलिबल उपलब्ध गराउनुभएको छ भने अन्य संघ संस्थाले पनि सहयोग गरेका छन् ।









