बनेपा/धनेश्वरी बहुउदेश्यीय सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख शाक्यले शेयर सदस्यहरुको जीवनस्तर उकास्न सहकारीले खेलेको भुमिकाको प्रशंसा गर्नु भएको थियो ।
शाक्यले नेपालमा सहकारी अभियानको थालनी काभ्रेको बनेपाबाट भएको आफुले जानकारी पाएको बताउनु भयो । पछिल्लो समय केहि सहकारीहरु सहकारी मुल्य मान्यता र प्रचलित कानुन अनुसार नचल्दा सदस्य मर्कामा परेको शाक्यको भनाई थियो । शाक्यले सहकारी मुल्य मान्यता र प्रचलित कानुनको पुर्ण पालना गर्न समेत सहकारी संस्थालाई आग्रह गर्नु भएको थियो । साधारण सभामा साकोसका अध्यक्ष बद्री प्रसाद पलाञ्चोकेले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै पलाञ्चोकेले शेयर सदस्यहरुको माग, चाहना र हितलाई सर्वोपरी ठानी बढी भन्दा बढी सुविधाहरु दिँदै जाने प्रतिवद्धता जनाउनु भएको थियो । यस्तै संस्थाका सचिव श्यामकुमार भालुले आर्थिक वर्ष २०७८÷७९ मा १ हजार ५ सय ९४ जना शेयर सदस्यबाट ६८ लाख ४८ हजार ४ सय शेयर रकम जम्मा गर्न सफल भएको बताउनु भयो । साकोसले विभिन्न शिर्षकमा १० करोड ६५ लाख ४० हजार ८ सय ४५ रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै १० करोड १० लाख २६ हजार ५ सय १८ रुपैयाँ कर्जा लगानी भएको कोषाध्यक्ष उमेशरत्न शाक्यले जानकारी दिएका छन् । उनका अनुसार संस्थाले विभिन्न माग र पद्धती हेरेर हायर पर्चेज, धितो र छोटो अवधिको ऋण प्रदान गर्दै आइरहेको छ । लेखा तथा सुपरिवेक्षण समितिका संयोजक सुरेशभक्त भोछिभोयाले संस्थाको लेखाजोखा दुरुस्त गर्न साथै सदस्यहरुलाई छिटो सेवा प्रवाह गर्न सफ्टवेयर मार्फत काम थालिएको बताए । कार्यक्रममा संस्थाका सल्लाहकार टीकाभक्त भोछिभोया र राजु सरकारले शेयर सदस्यको जीवनस्तर उकास्ने र आय आर्जन हुने क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन् । साधारण सभाको अवसर पारेर उत्कृष्ट ऋणी, उत्कृष्ट कर्मचारी र जेष्ठ सदस्यलाई सम्मान गरिएको छ ।









